• २२ वैशाख २०८१, शनिबार

कृषि उपज बिक्री तथा सङ्कलन केन्द्र सञ्चालनमा नआउँदै भत्कियो

blog

प्रयोगमा नआउँदै भत्कन लागेको कृषि उपज बिक्री तथा सङ्कलन केन्द्र ।

अमरराज नहर्की

तनहुँ, पुस १७ गते । तनहुँको व्यास नगरपालिका-१० दुम्सीमा निर्माण गरिएको कृषि उपज बिक्री तथा सङ्कलन (हाट बजार) केन्द्र प्रयोगमा नआउँदै भत्किन थालेको छ । हाट बजारका लागि बनेको संरचना व्यवस्थित गर्न नसक्दा तीन वर्ष अघिदेखि अलपत्र अवस्थामा छ । 

२८ लाखको लगानीमा वडा कार्यालयले निर्माण गरेको केन्द्र सञ्चालन नहुँदा राज्यको लगानी बालुवामा पानी भएको छ । यो उपज केन्द्रलाई झाडीले ढाकेकोले चौपाया चर्ने थलो बनेको छ । उक्त केन्द्रलाई सञ्चालन गर्न नसक्दा स्थानीय कृषक र उपभोक्ता मर्कामा परेका छन् । 

यो केन्द्र तनहुँको सदरमुकाम दमौली नजिकै भएकोले बिक्री गर्न सहज हुने भएको सञ्चालनमा ल्याउनु पर्ने स्थानीय बताउँछन् । हालका जनप्रतिनिधिले उक्त कृषि उपज केन्द्रमा सञ्चालनको लागि चासो नदिँदा अलपत्र परेको सोही ठाउँ निवासी शिक्षक श्रीकृष्ण आचार्यले बताउनुभयो । आचार्यले भन्नुभयो, "तत्कालीन जनप्रतिनिधिको सोच र चिन्तनलाई वर्तमान जनप्रतिनिधिले बेवास्ता गर्नुको परिणाम कृषि क्षेत्र र किसानको बिजोग भएको छ ।" 

स्थानीय गोपाल थापाले वडाले आफूले सञ्चालन गर्न नसक्ने हो भने सहकारी मार्फत सञ्चालनमा ल्याउँदा उपयुक्त हुने बताउनुहुन्छ । दाना, कृषि बिउँ, मल आदिको सुपथ पसल चलाएर आम उपभोक्ताहरूलाई गुणस्तरीय सेवा दिन आवश्यक रहेको उहाँले बताउनुभयो । शौचालय, लगायतका संरचना नभएको सञ्चालनमा नआएको अब चाँडै नै सुचारु गरिने वडाध्यक्ष खेमराज पोख्रेलले बताउनुभयो । 

तीन लाख ७० हजार रुपियाँ रकम विनियोजन गरिएको र शौचालय निर्माण एवम् रङ्रोगन गरी सञ्चालन गरिने उहाँले बताउनुभयो । केन्द्र प्रयोगमा नआउँदा भवनका फलाममा खिया लागेको छन्, टाँसिएका जिप्सनहरु उक्किन थालेका छन् । कृषकबाट उत्पादित कृषि सामग्रीलाई बिचौलियाहरूले कम मूल्यमा खरिद गर्ने र बढी मूल्यमा बेच्ने भएकोले कृषक र उपभोक्ता दुवै मर्कामा नपरुन् भन्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको सञ्चालनको लागि दबाब दिइरहेको सो वडाका निर्वतमान वडाध्यक्ष तुलसीराम सापकोटा बताउनुहुन्छ ।