गोरखापत्र अनलाइन
काठमाडौं, पुस १६ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका खेलाडीहरुले उत्कृष्ट क्षमता प्रदर्शन गर्नेक्रम बढेको बताउँदै खुसी ब्यक्त गर्नुभएको छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको १५ औं स्थापना दिवसका अवसरमा काठमाडौंमा सोमबार आयोजित एक समारोहमा उहाँले सो कुरा बताउनुभएको हो । सो एकेडेमीका संरक्षक समेत रहनुभएका अध्यक्ष ओलीले नेपालका खेल गतिविधिलाई अझ अन्तर्राष्ट्रिय स्तरसम्म पुगाउन जरुरी भएको बताउनुभयो ।
बहुआयामिक उद्देश्य बोकेको एकेडेमीले उल्लेख्य गतिविधिहरु गरिरहेको चर्चा गर्दै उहाँले थप सफलता चुम्न र प्रगति गर्न शुभकामना दिनुभयो । सो अवसरमा उहाँले एकेडेमीको डकुमेन्ट्री सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा एमालेका उपाध्यक्ष एबं पूर्व उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले खेल क्षेत्रबाट देशको नाम चम्काउन खेलाडीहरुको ठूलो भुमिका हुने बताउनुभयो । उहाँले एकेडेमीले खेलाडीहरु उत्पादन र क्षमता विस्तार गर्न ठूलो भुमिका खेलेको चर्चा गर्नुभयो ।
एकेडेमीका अध्यक्ष ध्रुव आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एकेडेमी र खेल क्षेत्रको बिकासमा योगदान गर्ने बिभिन्न ब्यक्तिलाई सम्मान गरिएको थियो । सो अवसरमा एकेडेमीका अध्यक्ष आचार्य, उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, उपमहासचिब सुवर्ण श्रेष्ठलगायतले बोल्नुभएको थियो । त्यस्तै, विभिन्न खेल, गीत र नृत्यहरु प्रदर्शन गरिएको थियो ।