• २९ वैशाख २०८१, शनिबार

बालकुमारी घटना : मृतक परिवार र सरकारबिच सहमति

blog

बालकुमारी घटनामा ज्यान गुमाएका परिवार र सरकारपक्षबिच सहमति गरिँदै ।

काठमाडौँ, पुस १६ गते । बालकुमारी घटनामा ज्यान गुमाएका परिवार र सरकारपक्षबिच सोमबार चार बुँदे सहमति भएको छ ।

गृह मन्त्रालयमा आज भएको सहमतिअनुसार मृतकको परिवारलाई परिवारको सल्लाहमा एक-एक जनालाई उपयुक्त खालको रोजगारीको ब्यवस्था गराउने, सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने, मृतक विरेन्द्र शाह र सुजन राउतलाई सहिद घोषणा गर्न आवश्यक कारबाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने र मृतकको परिवारले सोमबार नै शव बुझिलिने,  मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुर्‍याउने प्रवन्ध गृहमन्त्रालयले मिलाउने सहमति भएको छ । 

बालकुमारी प्रदर्शनमा मारिएका परिवार तथा आफन्त र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबिच गृह मन्त्रालयमा भेटघाट भएको छ । सोमबारको मन्त्रीपरिषद् बैठकले घटना छानबिनका लागि उच्चस्तरीय समिति बनाएको र गृहमन्त्री श्रेष्ठले राज्यव्यवस्था समितिको बैठकमा उच्चस्तरीय समितिको सुझाव तथा प्रतिवेदनबमोजिम दोषीलाई कार्वाही गरिने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । 

दुई पक्षबिच भएको सहमतीपत्रमा नेपाल सरकारको तर्फबाट गृहमन्त्रालयका उपसचिव उमाकान्त अधिकारी तथा मृतक परिवारको तर्फबाट मृतक विरेन्द्रका बुवा टेकबहादुर शाह र मृतक सुजनका मामा टेकबहादुर कटुवालले हस्ताक्षर गर्नुभएको छ । 

उक्त सहमति अछामका सांसद शेरबहादुर कुँवर र पुष्पबहादुर शाह, दैलेखका सांसद दिक्पालकुमार शाही र अमरबहादुर थापा तथा अर्का सांसद दीपकुमारी शर्माको रोहबरमा गरिएको हो । मृतक परिवारलाई सरकारले यसअघि १०-१० लाख रुपियाँ दिने घोषणा गरिसकेको छ ।