जनार्जन खत्री
सर्लाही, पुस १६ गते । सर्लाहीसहित तराईका जिल्लामा तीन दिनदेखि अत्यन्त कठ्याङ्ग्रिँदो चिसो भई जनजीवन कष्टकर बन्दैगएको छ ।
निरन्तर हुस्सु लागेर चिसो स्याँठ चल्दा कठ्याङ्ग्रिने जाडो भएपछि स्थानीय गरिब गुरुवालाई समस्या भएको छ । फुसको घरमा बस्ने तथा न्यानो ओढ्ने–ओछ्याउने नभएका परिवारमा चिसोले समस्या पार्न थालेको छ ।
शरीर ढाक्ने न्यानो कपडा नभएका अति विपन्न मानिस चिसो छल्न आगो अर्थात् घुर बालेर ताप्न थालेका छन् । यो चिसोमा मधेश तराईका ग्रामीण बस्तीहरुमा मुसहरसहित अन्य अति विपन्न परिवारका मानिसको कठ्याङग्रिएर ज्यान जाने गरेको छ ।
हरिपुर नगरपालिका –२, निवासी लक्ष्मी पासवानले चिसो बढेसँगै आफूहरुको क्षेत्रमा मुसहरसहित अन्य अति विपन्न परिवारको बिजोक भएको बताउनुभयो । “न्यानो कपडा नभएका मुसहर र अन्य पिछडिएका दलित परिवार बढ्दो चिसोबाट मारमा पर्न थालेका छन्” पासवानले भन्नुभयो, “उनीहरुलाई न्यानो प्रदान गर्न दाउरा बाँड्ने काम हुन सकेको छैन ।”
पुस १३ सम्म दिनभर पोल्नेगरी घाम लागेर न्यानो रहेको मधेशमा त्यसपछि भने कठ्याङ्ग्रिने गरी जाडो बढेको हो । बाक्लो हुस्सु लागेर निरन्तर शित झर्दा मानिसलाई घर बाहिर निस्कनै समस्या पर्न थालेको छ ।
चिकित्सकले कठ्याङग्रिदो चिसोका कारण स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन् । “चिसो बढ्दै गएकाले यो बेला बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिको अझ बढी ख्याल गर्नुपर्छ” प्रादेशिक अस्पताल मलङ्गवाका डाक्टर नवलकिशोर झाले भन्नुभयो, “हुस्सु लागेको बेला सकेसम्म घरभित्रै बस्न र तातो लुगा लगाउन सुझाव दिन्छु ।”
चिसो बढ्दा बालबालिकालाई विद्यालय जान समस्या पर्न थालेको छ । काम विशेषले घरबाहिर निस्कनु पर्नेहरु पनि हुस्सु र चिसो स्याँठले प्रभावित बनेका छन् ।
अहिलेको यो हुस्सु र शितले बालिनालीमा असर पुग्ने चिन्ताले किसान पिरोलिन थालेका छन् । यस्तै मौसम रहिरहे आलु, गोलभेँडा, सिमी, बोडी लगायतका तरकारी र अन्य खेतीबालीमा सङ्क्रमण लाग्ने ईश्वरपुर नगरपालिका –११, खैराका किसान अरविन्द चौधरीले बताउनुभयो ।
चिसो बढेसँगै जिल्लाको लालबन्दी, मलङ्गवा, हरिवन, बयलवास, बरहथवा लगायतका मुख्य बजारमा न्यानो कपडाको व्यापार बढेको छ । लालबन्दी बजारका कपडा व्यापारी राजकरण साहले चिसो बढेसँगै ज्याकेट, हुडी, हाइनेक, ट्राउजर, टोपी, मोजा लगायत न्यानो कपडाको व्यापार बढेको बताउनुभयो ।