भवानी ऐर
गोदावरी (कैलाली), पुस १६ गते । कैलालीको चुरे गाउँपालिकाले पहिरो पीडितहरुलाई सोलार वितरण गरेको छ । बाढी पहिरोमा घरखेत गुमाएर सार्वजनिक जङ्गलमा पालमुनी बसिरहेका स्थानीयलाई पालिकाले उज्यालोका लागि सोलार वितरण गरेको हो ।
चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम अनुसार पालिकाले आइतबार बालुवागडा-४ का १८ परिवारलाई सोलार वितरण गरेको गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले जानकारी दिनुभयो । पालिकाभित्रका ३० बाढी पहिरो पीडित परिवारलाई सोलार वितरण गरिने योजना अनुसार चार परिवारलाई केही समय अगाडि नै सोलार वितरण गरिएको उहाँले बताउनुभयो । खानीडाँडाको राजमार्ग छेउमा रहेका आठ परिवारलाई सोलार वितरण गर्न बाँकी रहेको भन्दै अध्यक्ष बोगटीले बाँकी रहेकाहरुलाई पनि एक-दई दिनभित्रै वितरण गरिने जानकारी दिनुभयो ।
वितरण गर्न थालिएका सोलार पचास वाटको र ब्याट्रि ३५ वाटको रहेको अध्यक्ष बोगटीले बताउनुभयो । बाढी पीडितहरु चार-पाँच वर्षदेखि अँध्यारोमै बस्न बाध्य भएकाले उहाँहरुको सहजताका लागि सोलार वितरण गरिएको बताउनुभयो । "यत्रो समयदेखि उहाँहरुले अँध्यारोमा जीवन बिताउनुपरेको छ", उहाँले भन्नुभयो, "साना बालबालिकाहरुले पढ्न पाएका छैनन्, सोलार वितरणले केही सहज होला भन्ने हामीले विश्वास लिएका छौं ।"
बाढीपहिरो पीडितहरुलाई आफ्नो थातथलो छोड्नुपर्दाको पीडा एकातिर छ भने अर्कातिर हालसम्म पनि कुनै निकायबाट पुनःस्थापनाकाे सुनुवाइ हुन नसक्दाको पीडा छ । विस्थापित भएको ४-५ वर्ष पुग्नै लाग्दा पनि त्रिपालमुनि कष्टकर जीवन बाँच्न पहिरो पीडितहरु बाध्य छन् ।