राममणि दाहाल
हेटौँडा, पुस १६ गते । बागमती प्रदेश सरकारले सन् २०२४ लाई प्रदेश भ्रमण वर्षको रूपमा मनाउने भएको छ । प्रदेश सरकारले प्रदेश भ्रमण २०२४ वर्ष अङ्ग्रेजी सन् २०२४ को पहिलो दिन आज (सोमबार) प्रदेश भ्रमण वर्षको घोषणासँगै शुभारम्भ गर्ने भएको हो ।
प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले औपचारिक कार्यक्रम गरी आजबाट प्रदेश भ्रमण वर्ष २०२४ को शुभारम्भसँगै वर्ष भर पर्यटन प्रवर्धनका विभिन्न कार्यक्रम गरिने जानकारी दिनुभयो ।
प्रदेशभित्र रहेका धार्मिक, ऐतिहासिक, प्राकृतिकलगायतका क्षेत्रहरूको प्रचार प्रसारसँगै सम्भावित पर्यटकीय गन्तव्यको पहिचान गर्न प्रदेश भ्रमण वर्ष घोषणा गर्न लागेको हो । उहाँले प्रदेश भ्रमण वर्ष २०२४ को शुभारम्भले प्रदेशभित्र पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताउनुभयो ।