• १२ मंसिर २०८१, बुधबार

चौरासेमा सत्तरी उद्योग राख्न सकिने

blog

सुर्खेत समाचारदाता

सुर्खेत, पुस १६ गते । प्रादेशिक औद्योगिक क्षेत्र स्थापनाको प्रस्ताव गरिएको लेकबेँसी नगरपालिका–१० को चौरासेमा कम्तीमा ७० वटा उद्योग राख्न सकिने अध्ययनले देखाएको छ । औद्योगिक विकास व्यवस्थापन लिमिटेडको एक टोलीले सो क्षेत्रमा कम्तीमा ७० वटा उद्योग राख्न सकिने निष्कर्ष निकालेको हो । प्रदेश राजधानी वीरेन्द्रनगर नजिकै रहेको र वन क्षेत्र भएकाले मुआब्जालगायत अन्य अवरोध पनि नभएकाले चौरासेमा प्रादेशिक औद्योगिक क्षेत्र स्थापना सम्भव भएको टोलीले जनाएको छ । 

टोली नेता एवं औद्योगिक विकास व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तका अनुसार औद्योगिक क्षेत्रका रूपमा चौरासेनै उपयुक्त हुने देखिन्छ । सो क्षेत्रमा वनसमेत भएकाले मुआब्जाको समस्या नभएको, आवास क्षेत्र नभएकाले कुनै अवरोध पनि नआउने बताइन्छ । सो स्थानमा हाल २१९ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउन सकिने र त्यहाँ करिब ७० वटा उद्योग स्थापना गर्न सकिने अध्ययनका क्रममा पाइएको अध्यक्ष पन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार सार्वजनिक–निजी–साझेदारी (पिपिपी) मोडेलबाट गराउन सकिने अवस्था छ । यसो गर्दा औद्योगिक क्षेत्र छिटो बनाउन सकिने छ । सो औद्योगिक क्षेत्रमा कर्णाली प्रदेशमा प्राप्त हुने कच्चा पदार्थ उपयोग हुने उद्योग स्थापना गर्नुपर्ने धारणा उहाँको छ । कृषि, जडीबुटी, खानी, पत्थर, सम्पदा आदिमा आधारित उद्योग यस औद्योगिक क्षेत्रमा स्थापना गर्नुपर्ने सुझाव उहाँको छ । 

यस प्रस्ताविक औद्योगिक क्षेत्रको लागत करिब १४ अर्ब अनुमान गरिएको छ । यस क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्न सके करिब २५ वर्षसम्म ढुक्क हुन सकिने अध्यक्ष पन्तले बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले आर्थिक मन्दीका कारण पिपिपि मोडेलबाट औद्योगिक क्षेत्र स्थापना गर्न कठिन हुने भएकाले सरकारले नै लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले कर्णाली प्रदेशमा ठुला उद्योग र व्यवसाय नभएकाले सरकारले यो औद्योगिक क्षेत्रलाई प्राथमिकता दिएर काम थाल्नुपर्ने बताउनुभयो ।