दोलखा समाचारदाता
दोलखा, पुस १६ गते । दोलखाको भीमेश्वर नगरपालिका–६ स्थित बहुसांस्कृतिक सङ्ग्रहालय अन्तर्गत पद्मसम्भव (गुरु रेम्पोछे) को मूर्ति निर्माण गरिएको छ ।
सङ्ग्रहालय तथा पार्कको विस्तृत परियोजना प्रतिवेदन अनुसार पहिलो चरणमा पद्मसम्भवको मूर्ति निर्माण सम्पन्न गरिएको हो । वडाध्यक्ष नवीन लामाका अनुसार मूर्ति निर्माण र रङरोगनलाई डेढ लाख रुपियाँ खर्च भएको छ । अब छ लाख रुपियाँमा रेलिङ, बत्ती जडान र वाल पेन्टिङ गर्ने तयारी भइरहेको छ ।
उहाँका अनुसार बागमती प्रदेश सरकारको १५ लाख र नगरको १५ लाख, सहरी शासकीय क्षमता विकास कार्यव्रmमको १५ लाख र आर्थिक सङ्कलन पाँच लाख गरी कुल ५० लाख रुपियाँमा यो पोखरीसहितको मूर्ति निर्माण गरिएको हो । पोखरीसहितको १४ फिटे पिल्लरमा १६ फिट अग्लो मूर्ति निर्माण भएको छ । पिल्लरको चारैतिर कमलको फूल अङ्कित छ ।
मूर्तिको पछिल्ला भागमा विभिन्न मन्त्र राखिएका छन् । यसका लागि मात्र साढे १८ लाख रुपियाँ लाग्ने भएकाले नपुग रकम अन्यत्रबाट जुटाइएको वडाध्यक्ष लामाले जानकारी दिनुभयो । तीन लाख १५ हजार लिटर पानी अट्ने गोलो पोखरी र त्यसको वरिपरि निलो रङको टाइल राखिएको छ । पछाडिपट्टिको डिलमा विभिन्न तस्बिर राखिनुका साथै बहुसांस्कृतिक सङ्ग्रहालयको ठुलो तस्बिर राखिने योजना रहेको बताइन्छ ।
प्रदेश सरकारको ३५ लाख र वडाको १८ लाख रुपियाँमा पोखरीनजिकै विशेष खाले टासी तामाङ नामक गुम्बा भवन निर्माण सुरु गरिएको छ । साढे दुईतले यस भवनमा गुम्बाका संरचना राख्ने र आवासको व्यवस्था हुने छ । भवनको भुइँ तला यस वर्ष ढलान गर्ने तयारी भइरहेको बताइन्छ ।
दोलखामा रहेका १२ आदिवासी जातिको संस्कार संस्कृति झल्कने किसिमको सङ्ग्रहालय एकै स्थानमा निर्माण गर्न लागिएको छ । दोलखा नै उद्गम थलो भएका थामी, जिरेल, सुरेल र तामाङ, शेर्पा, श्रेष्ठ, सुनुवार, गुरुङ, माझी, भुजेल, मगर र कुमाल गरी कुल १२ आदिवासी जनजातिको बसोबास रहेको छ ।
उनीहरूको जन्मदेखि मृत्युसम्मका संस्कार, वेशभूषालगायतको अस्तित्व जोगाउन यो सङ्ग्र्रहालय निर्माण हुन लागेको बताइन्छ । आदिवासी जनजातिका पुराताìिवक महìव झल्कने किसिमका १२ वटै भवन निर्माण भएपछि यसमा साङ्केतिक वस्तु राखिने जनाइएको छ ।
यो भवनलाई सङ्ग्रहालयका रूपमा परिणत गरिने छ । भवनमा १२ आदिवासी जनजाति समुदायको लोपोन्मुख इतिहास, संस्कार, संस्कृति, वेशभूषालाई राखिने वडाध्यक्ष लामाले जानकारी दिनुभयो । सोही स्थानमा करिब चार सय क्षमताको कार्यव्रmम हल र पार्किङ पनि निर्माण गरिने छ । ४२ रोपनी जग्गामा निर्माण हुने यो सङ्ग्रहालयको लगानी करिब १२ करोड रुपियाँ रहेको छ ।
सङ्ग्रहालय निर्माणका लागि वडाको पाँच लाख रुपियाँको लागतमा विस्तृत परियोजना प्रतिवेदन तयार गरी भीमेश्वर नगरपालिकामा पेस गरिएको बताइन्छ ।