अछाम समाचारता
मङ्गलसेन, पुस १६ गते । जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवरले व्यक्तिगत लगानीमा पाँच वर्षयता एभोकाडोको विरुवा बाँड्न थाल्नुभएको छ । कृषकलाई आधुनिक खेतीतिर आकर्षित गर्न निजी लगानीमा एभोकाडोको बिउ उमारेर विभिन्न स्थानमा वितरण गरिरहनुभएको हो ।
“एक वर्षमा ३०/४० हजारको बिउ उमारेर निःशुल्क बाँड्ने गरेको छु ।” कुँवरले भन्नुभयो, “राम्रो उत्पादन र आयआर्जनमा सहज भएकाले आफैँ बिउ उमारेर यहाँका कृषकलाई बाँड्ने गरेको छु ।”
अछामका आठ स्थानीय तहका विभिन्न कृषकलाई नमुनास्वरूप बिरुवा वितरण गर्ने गरेको कुँवरको दाबी छ । साँफेबगर, मेल्लेख, बान्नीगढी, मङ्गलसेनलगायत स्थानीय तहमा एभोकाडोको बिरुवा निःशुल्क बाँड्नुभएको हो ।
स्थानीय तहमा पुगेर एभोकाडो बाँड्ने योजना रहेको कुँवरले सुनाउनुभयो । परम्परागत कृषिभन्दा आयआर्जनमूलक खेतीपातीमा लाग्न कुँवरको सुझाव छ । “कृषि बँचे मात्रै देश बच्ने हो, त्यसैले राम्रो योजना बनाएर कृषिमा लगानी गर्नुपर्छ भनेर मैले हरेक ठाउँमा भन्दै आएको छु,” कुँवरले भन्नुभयो ।
स्थानीय तहले आधुनिक कृषि प्रविधि अपनाएर युवालाई गाउँमै स्वरोजगारमूलक बनाउन सकिने प्रमुख कुँवरको सुझाव छ । कृषि अनुदानका नाममा दुरुपयोग भइरहेको भनाइ कुँवरको छ । निर्माण व्यवसायीको लामो अनुभव सँगाल्नुभएका कुँवर नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल किसान महासङ्घको जिल्ला अध्यक्ष भएपछि कृषिमा धेरै काम गर्न सकिने सम्भवना देखेको बताउनुहुन्छ ।
कुँवर २०७९ सालको स्थानीय तहको निर्वाचनमा साँफेबगर नगरपालिका–८ बाट वडा सदस्य हुँदै जिल्ला समन्वय समितिको नेतृत्वमा पुग्नुभएको हो । उहाँ कृषकका साथै समाजसेवी पनि हुनुहुन्छ ।