• १५ मंसिर २०८१, शनिबार

नेपाली उत्पादनलाई बजारीकरण गर्नुपर्छ : सभामुख घिमिरे

blog

कार्यक्रम उद्घाटन गर्नुहुँदै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे ।

काठमाडौं, पुस १५ गते। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालमा उत्पादन हुने च्याउको बजारीकरण हुनुपर्नेमा जोड दिनुभएको छ। आइतबार ललितपुरमा राष्ट्रिय च्याउ दिवस एवं च्याउ मेला तथा परिकार महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। 

उहाँले नेपालमा पाइने च्याउलाई प्रवर्द्धन र बजारीकरण गर्न जरुरी रहेको बताउनुभयो। गत १० वर्ष यता सकारले च्याउ उत्पादक किसानलाई आवश्यक महत्त्व र स्थान दिन नसकेको उहाँको भनाइ छ।

सभामुख घिमिरेले भन्नुभयो ‘‘बितेका केही वर्ष यता गत १० वर्ष यता च्याउ क्षेत्रमा किसानहरूले गरिरहेका प्रगतिहरू, किसानका मेहनत, च्याउ उत्पादकमा राज्यले जति महत्त्व दिनुपर्ने हो, त्यो कुराको अझै पनि अभाव छ। जसरी अरू क्षेत्रको अनुसन्धानमा महत्त्व दिइएको छ, नेपालमा पाइने च्याउलाई अनुसन्धान गर्ने, त्यसलाई व्यवहारमा लागू गर्ने र यसको बजारीकरण गर्नेकुरामा अझै ध्यान दिन जरुरी छ।’’

उहाँले नेपाल जैविक विविधतालाई उपयोग गर्ने सन्दर्भमा धेरै नै पछि परेको जिकिर गर्नुभयो। उहाँले विदेशी च्याउलाई विस्थापित गरी स्वदेशी च्याउको बजारीकरण गर्न जरुरी रहेको बताउनुभयो।