• १२ मंसिर २०८१, बुधबार

म्याग्दीको मङ्गलामा राष्ट्रपति रनिङ शिल्ड सुरु

blog

राष्ट्रपति रनिङ शिल्डको उद्घाटन अवसरमा सहभागीहरु । तस्बिर : गोरखापत्र

ठाकुरप्रसाद आचार्य

म्याग्दी, पुस १५ गते । म्याग्दीको मङ्गला गाउँपालिकाको आयोजनामा चौथो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

पालिकाको वडा नम्बर ५ को  कैलाशफाँट स्थित खेलकुद मैदानमा सुरु भएको प्रतियोगिताको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले उद्घाटन गर्नुभयो  । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा पालिकाका १० वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री जुग्जालीले विद्यालय स्तरमा खेलकुद पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । प्रत्येक विद्यालयमा व्यवस्थित खेलकुद मैदान निर्माण र खेलकुद सामाग्रीको व्यवस्था गर्नुपर्ने उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘‘खेलाडी उत्पादन हुने नै विद्यालय स्तरबाट हो । विद्यालय स्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले खेल प्रतिभाको पहिचान र क्षमता विकासमा टेवा पुर्याउँछ । त्यसैले विद्यालय स्तरमा खेल पूर्वाधार निर्माण गर्न स्थानीय तह र प्रदेश सरकारले प्राथमिकतामा राखेका छन् ।’’ प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपियाँ, रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

दोस्रो र तेस्रो हुनेलाई क्रमशः  ३० हजार र २० हजार रुपियाँ पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाका सूचना अधिकारी राजेन्द्रप्रसाद आचार्यले  जानकारी दिनुभयो । छात्र र छात्रा भलिबल, कबड्डी र एथलेटिक्स विधामा प्रतिस्पर्धा गराइने उहाँले जानकारी दिनुभयो । 

गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकास्तरबाट छनौट हुने खेलाडीहरूले जिल्ला स्तर हुँदै प्रदेश र राष्ट्रिय स्तरमा समेत सहभागिता जनाउनका लागि अनुशासित भएर खेल प्रतिभाको प्रदर्शन गर्न खेलाडीहरूलाई आग्रह गर्नुभएको थियो ।

जिल्ला समन्वय समितिका उप प्रमुख डिलकुमारी खत्री, जिल्ला अधिकारी लक्ष्मण ढकाल र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले मन्तव्य राख्नुभएको थियो ।प्रतियोगिताको उद्घाटन कार्यक्रममा गाउँपालिकाको केन्द्र बावियाँचौरबाट बाजागाजासहित विभिन्न विद्यालयबाट आएका विद्यार्थीहरूले मार्च पास गरेर कार्यक्रमस्थल पुगेका थिए ।