• ११ मंसिर २०८१, मङ्गलबार

पोखरा थिएटरमा ‘१२ दुर्वासा’

blog

पोखरा, पुस १५ गते । अमेरिकन नाटककार रेग्नाल्ड रोजले लेख्नुभएको नाटक १२ एङ्ग्री मेन अर्थात् ‘१२ दुर्वासा’ पोखरा थिएटरमा मञ्चन हुने भएको छ । रोजले उक्त ‘कोर्ट रुम’ नाटक सन् १९५४ लेख्नुभएको थियो । अमेरिकामा व्याप्त वर्ण विभेदमाथि लेखिएको नाटकमा आधारित रहेर थुप्रै भाषामा नाट्य रूपान्तरण तथा चलचित्र बनिसकेको छ ।

पोखरा नाटकघरमा २६ गतेदेखि बुधबारबाहेक माघ १३ गतेसम्म मञ्चन हुने नाटकलाई सुरेश सापकोटाले नेपालीमा भावानुवाद तथा परिवर्तनले निर्देशन गर्नुभएको छ । तत्कालीन समयमा अमेरिकामा हुने काला र गोरा जातिबिचको वर्गीय द्वन्द्व ‘१२ एङ्ग्री मेन’ मा समेटिएको भए पनि नाटकलाई नेपालको वर्गीय विभेदसँग जोडेर अनुवाद गरिएको निर्देशक परिवर्तनले बताउनुभयो । नाटकमा एउटा सुकुमवासी बस्तीको कथा देखाइने छ । जहाँ एउटा छोरोले बाबुको हत्या गर्छन् र त्यहीँबाट कथा सुरु हुने छ । नाटकमा १३ जना कलाकारले आफ्नो प्रस्तुति दिनुहुने छ ।