काठमाडौँ, पुस १५ गते । विकास निर्माण गाउँ गाउँमा पुगे पनि विकास उपभोग गर्ने जनसङ्ख्या भने अहिले सहर केन्द्रित भएका छन् । सङ्घीय व्यवस्था कार्यान्वयनमा आएदेखि नै क्रमिक रूपमा सरकारले साधन, स्रोत र जनशक्ति नागरिकको घरदैलोमा पु¥याए पनि अहिले विकास उपभोग गर्ने जनसङ्ख्या भने सहर केन्द्रित हुँदै गएका छन् ।
राष्ट्रिय जनगणना, २०७८ अनुसार गाउँपालिकामा भन्दा नगरपालिकामा बस्ने जनसङ्ख्या तेब्बर रहेको छ । कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ मध्ये नगरपालिकामा एक करोड ९२ लाख ९६ हजार ७८८ र गाउँपालिकामा ९८ लाख ६७ हजार ७९० जना बसोबास गर्छन् ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार २०६८ सालको जनगणनामा भने सहरी क्षेत्रमा १७.१ प्रतिशत र गाउँमा ८२.९ प्रतिशत जनसङ्ख्या बसोबास गर्ने गरेका थिए भने अहिले नगरपालिकामा ६३.१९ प्रतिशत र गाउँपालिकामा ३६.८१ प्रतिशत रहेको थियो ।
गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका उपाध्यक्ष एवं जुम्लाको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले गाउँ गाउँमा विकास निर्माण र सेवा प्रदायक संस्था क्रियाशील भए पनि विकास उपभोग गर्ने जनसङ्ख्या भने सहर केन्द्रित भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले गाउँ गाउँमा खानेपानी, विद्युत्, टेलिफोन, इन्टरनेट, स्वास्थ्य संस्था, सडक, यातायात, विद्यालयलगायतका पूर्वाधारको विकास र विस्तार भएका छन् तर जनसङ्ख्या भने क्रमिक रूपमा सहर केन्द्रित हुँदै गएका छन् ।”
उहाँका अनुसार गाउँका कतिपय पुरुष विदेश गएका र बालबालिका पढाउनका लागि महिला सहरमा बस्ने गरेका छन् । त्यस्तै कतिपय विभिन्न पेसा र व्यवसाय गर्न सहरमा बसेका छन् । महासङ्घका उपाध्यक्ष शाहीले भन्नुभयो, “द्वन्द्वका क्रममा गाउँमा शान्तिसुरक्षा नहुँदा कतिपय गाउँ छाडेर सहर गए । ती व्यक्ति सहरमा नै स्थापित भए, गाउँबाट भने विस्थापित जस्तै भए ।”
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनदेखि नै अहिले गाउँ गाउँमा स्थानीय सरकार क्रियाशील भएका छन् । स्थानीय तहमा सम्बन्धित स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले विकास निर्माणको कामलाई तीव्रता दिए पनि विकासको उपभोग गर्ने उपभोक्ता सहर केन्द्रित भएको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले जनाएको छ ।
७५३ स्थानीय तहका कुल छ हजार ७४३ वटा वडा कार्यालयका छन् । साथै स्थानीय तहमा विकास निर्माणका र सेवा प्रवाहका लागि कृषि, पशु शाखा, शिक्षा, स्वास्थ्य सहकारी, महिला विकास शाखा गाउँ गाउँमा पु¥याइएको छ । यतिका सेवा प्रदायक संस्था स्थानीय तहमा पुगे पनि सेवा लिने जनसङ्ख्या भने सहर केन्द्रित छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले सरकारले सङ्घीयताको मर्म अनुसार व्यवस्थित नीति बनाएर कार्यान्वयन नगर्दा विकास उपभोग गर्ने जनसङ्ख्या सहर केन्द्रित भएका बताउनुभयो ।
अहिले व्यक्तिको आवश्यकता बढ्दै गएकाले गाउँमा भएको सामान्य पूर्वाधारले मात्र व्यक्ति गाउँमै टिक्न सक्ने सम्भावना कम रहेको भन्दै उहाँले तीनै तहको सरकार मिलेर गाउँमा नै उच्चशिक्षासम्म निःशुल्क अध्ययन गर्ने व्यवस्था गरी विद्यार्थीलाई पढ्दापढ्दै सिपयुक्त बनाई गाउँमा नै रोजगारी दिलाउने वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालयको जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग प्रमुख डा. पद्मप्रसाद खतिवडाले गाउँमा विकासका पूर्वाधार पुगे पनि त्यो अपुग भएकाले विकास उपभोग गर्ने व्यक्ति गाउँमा नै अडिन नसकेको बताउनुभयो । उहाँले सरकारले गाउँ र सहरमा जनसङ्ख्याको वितरणलाई समान बनाउनका लागि अवसरको वितरण पनि समान बनाउन सरकारलाई सुझाव दिनुभयो ।