• ६ माघ २०८१, आइतबार

पुलिसले चुम्यो प्रो क्लब टी–२० उपाधि

blog

दीपकप्रसाद गौतम 

वीरगञ्ज, पुस १४ गते । दोश्रो संस्करणको प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । वीरगञ्जमा शनिबार भएको फाइनलमा पुलिसले पर्सा–११ लाई एक सय रनले हरायो । 

वीरगञ्जको नारायणी क्रिकेट रङ्गशालामा शनिबार सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको नेपाल पुलिस क्लवले एक सय ४५ रनको स्कोर खडा गरी पर्सा–११ लाई जितका लागि एक सय ४६ रनको लक्ष्य दिएको थियो । 

नेपाल पुलिस क्लबले पूरै ओभर खेलेर आठ विकेटको क्षतीमा एक सय ४५ रन बनाएको थियो । एक सय ४६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको पर्सा–११ सबै बिकेट गुमाउदै ११ ओभरमा ४५ रन मात्र जोड्न सकेको थियो । नेपालका लागि करण केसीले अभिजित रही पाँच छक्काको मद्दतले १७ बलमा ४० रनको योगदान दिनुभएको थियो । फाइनल खेलको म्यान अफ दि म्याच करण केसी नै घोषित हुनभयो । 

नेपाल पुलिसका लागि अर्जुन साउदले २६ बलमा २६ रन जोड्नुभयो । शङ्कर रानाले १२ बलमा १९ रन, दिलीपनाथले १४ बलमा १७ रन र आसिफ शेषले १९ बलमा १६ रन बनाउनुभयो । पर्सा–११ का लागि अनिल साहले १२ बलमा १३ रन बनाउनुभयो ।    

पर्सा क्रिकेट सङ्सको आयोजनामा पुस १२ देखि वीरगञ्जमा सुरु भएको दोस्राे संस्करणको प्रतियोगितामा नेपालका तीन विभागीय टिमका साथै पर्सा–११ तथा भारतको युपी–११ र वण्डर्स क्लब नोयडा गरी ६ टोलीको सहभागिता थियो ।