एक दिन
मान्छेबारे सोच्दा सोच्दै
स्मृतिपटलमा आयो
एउटा आदिम मान्छे !
ऊ वस्त्रहीन थियो
ऊ अस्त्रहीन थियो
ऊ शस्त्रहीन थियो
ऊ शास्त्रहीन थियो
फगत सङ्घर्षको सिङ्गो पहाड थियो
तैपनि आफैँमा शान्त थियो ।
आधुनिक मान्छेलाई देखेर
चित खायो आदिम मान्छे
कोही नयाँ नयाँ कपडामा बेरिएका
कोही ज्ञान विज्ञानका अनेक विधाले घेरिएका
कति त आफ्नै आविष्कारले
आफैँ आफैँ सेरिएका ।
अस्त्रहरूको होडबाजी गर्दै
मृत्युसँग जिस्किएको
पत्र पत्र युद्ध बोकेर आफैँभित्र
विश्व शान्तिको खोजमा निस्किएको
एउटा विवादास्पद
एउटा विरोधाभास
यो आधुनिक मान्छेलाई देखेर
त्यो आदिम मान्छेलाई लाग्यो–
कठै !
पद, प्रतिष्ठा र पैसाकै खातिर
फगत उत्तेजना बाँचिरहेछ !
जुवाडेले खालमा हारेको घडीजस्तै
पराजित समयभित्र
जितको घोषणा गरिरहेछ !
यो सभ्य र भव्य आधुनिक मान्छे,
बलात्कारीबाट छुटेका उत्तेजित शुव्रmकिटहरू
असहाय, अभागी गर्भाशयतिर दगुरे जस्तै
एउटा कहाली लाग्दो भविष्यतिर दगुरिरहेछ !