• २४ वैशाख २०८१, सोमबार

घटनाप्रति दुःख व्यक्त

blog

काठमाडौँ, पुस १४ गते  । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाका विषयमा भएको आन्दोलन क्रममा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । मन्त्रालयले शुक्रबार विज्ञप्तिमार्फत उक्त घटनाले अत्यन्तै मर्माहित बनाएको भन्दै दुःख प्रकट गरेको छ ।  विज्ञप्तिमा भनिएको छ, पानीजहाज निर्माण क्षेत्र (सिप विल्डिङ) तर्फ आवेदन दिएकालाई मागबमोजिम उत्पादनमूलक क्षेत्रतर्फका आवेदन दिन सक्ने गरी आवश्यक निर्णयमा पुग्ने गरी वार्ताको तयारी भइरहेको हुँदा हाललाई सबै प्रकारका आन्दोलन धर्नाजस्ता क्रियाकलाप नगर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ । 

दक्षिण कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको विषयलाई लिएर शुक्रबार आन्दोलनमा उत्रिएका दुई युवाको मृत्यु भएको छ । सिप बिल्डिङको परीक्षामा सहभागी भएर अनुत्तीर्ण भएका युवा बिहीबारैदेखि शाखाबाहिर पुगेर आक्रोशित भएका थिए । ती युवालाई इपिएस शाखाले प्रवेशद्वारबाट प्रवेश नै दिएको थिएन । शाखाले बिहीबार बिहानैदेखि सुरक्षा व्यवस्था कडाइ गरेको थियो । 

दक्षिण कोरियाले नेपालबाट इपिएस प्रणालीमार्फत खास गरी उत्पादनमूलक तथा कृषि क्षेत्रमा हरेक वर्ष श्रमिक लैजाँदै आएको छ । पछिल्लो समय सिप बिल्डिङमा पनि ठुलो सङ्ख्यामा लैजान थालेको छ । इपिएस कोरिया शाखाका अनुसार यो वर्ष पनि कोरियाले यी क्षेत्रमा श्रमिक लैजान परीक्षा आवेदन खुलाइरहेको छ । सन् २०२३ मा सिप बिल्डिङका लागि आवेदन माग ३५ हजार ७०८ जनाको आवेदन परेको इपिएस शाखाले जनाएको छ । यसको हाल भाषा 

तथा सिप परीक्षा भइसकेको छ । सिप परीक्षामा तीन हजार ९८९ जना उत्तीर्ण भएका छन् । सिप बिल्डिङ भाषा परीक्षा सन् २०२३ सेप्टेम्बर १८ मा भएको थियो ।

त्यस्तै कोरियाले उत्पादन क्षेत्रतर्फ लैजाने श्रमिकका लागि यही पुस २ गते आवेदन खुलाएको थियो । जसमा अहिलेसम्मकै धेरै एक लाख ४३ हजार ८१२ जनाले आवेदन परेको इपिएस शाखाले जनाएको छ । इपिएस शाखाले यसअघि सन् २०२३ मा अन्य क्षेत्रतर्फ कोरियन भाषा परीक्षामा सामेल भएकाले उत्पादनमूलक क्षेत्रका लागि फेरि आवेदन दिन नपाउने भन्दै सूचना निकालेको थियो । त्यही अनुसार उत्पादन क्षेत्रतर्फमा सिप बिल्डिङको परीक्षामा सामेल भएर अनुत्तीर्ण भएकाले आवेदन दिन पाएनन् । यी युवाको सङ्ख्या ३० हजारभन्दा बढी छ ।

उत्पादन क्षेत्रमा आवेदन दिन नपाउने भएपछि सिप बिल्डिङमा सहभागीले उत्पादनमूलक क्षेत्रको परीक्षामा आवेदन दिन पाउनुपर्ने माग राख्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए ।  उच्च अदालत पाटनले पुस ५ गते मुद्दा दायर गर्ने १७ जनालाई उत्पादन क्षेत्रमा रोजगारीका लागि परीक्षा आवेदनमा सहभागी गराउन अन्तरिम आदेश जारी गरेको थियो । 

अदालतको आदेश अनुसार १७ जनालाई परीक्षा आवेदनका लागि शाखाले शुक्रबार बिहान १० देखि ३:०० बजेसम्म कार्यालयमा सम्पर्क गर्न सूचना गरेको थियो । 

सिप बिल्डिङ परीक्षामा सामेल लगभग ३० हजार युवाको कुनै निक्र्याेल भएन । उनीहरूमध्येकै केही शुक्रबार आन्दोलनमा उत्रिएका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव केवलप्रसाद भण्डारीले अदालतको आन्तरिक आदेश अनुसार १८ जनाका लागि शुक्रबार आवेदन माग गरेको जानकारी दिनुुभयो । 

इपिएस शाखाका प्रमुख गुरुदत्त सुवेदीका अनुसार सिप बिल्डिङमा सहभागी भएर अनुत्तीर्ण सबै जना कार्यालयमा आएपछि तनाव उत्पन्न भएको थियो । सोही ठाउँमा मन्त्री ज्वालाको गाडीमा आगजानी गर्ने क्रममा सो घटना भएको हो । 

सचिव भण्डारीले सिप बिल्डिङमा अनुत्र्तीणलाई परीक्षा दिने वातावरण बनाएर भिडलाई शान्त गर्न पहल भइरहेका बेला आक्रोशित युवाले मन्त्री ज्वालाको गाडीमाथि आगजनी गर्न पुग्दा दुःखद घटना भएको बताउनुुभयो । 

उहाँका अनुसार अदालतकै आदेश भएका कारण यसबारे हामीले कोरिया सरकारसँग आग्रह गरेका छौँ । हामीले अदालतको आदेश नकार्न मिल्दैन । बाध्यकारी हुन्छ, मान्नै पर्छ । उहाँहरूले आवेदन दिन पाउनुपर्ने व्यवस्था गरिदिनूस् भनेर आग्रह गरेपछि कोरिया सकारात्मक भएको छ ।