राममणि दाहाल
हेटौँडा, पुस १३ गते । संविधानमा व्यवस्था भएको तहगत अधिकारका बारेमा छलफल गर्न हेटौँडामा भेला भएका सातै प्रदेशका मुख्यमन्त्रीहरुले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटगरी साझा धारणा बुझाउने भएका हुन् ।
सातै प्रदेशका मुख्यमन्त्रीले यहाँ बसेको बैठकले संविधानमा भएको तहगत अधिकारको बारेमा साझा धारणा बुझाउने निर्णय गरेको हो । बैठकपछि यहाँ आयोजित पत्रकार सम्मेलनमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बैठकले संविधानमा भएका प्रदेशको अधिकार सम्बन्धमा नौ बुँदे साझा सहमति बनाएको जानकारी दिनुभयो ।
उहाँले बैठकबाट निर्णयभएका साझा धारणा भोलि बिहान ८ बजे प्रधानमन्त्री प्रचण्डलाई भेटर बुझाउने गरी कार्यक्रम तय भएको बताउनुभयो । सङ्घीय सरकारले विगतमा गरेका प्रतिबद्धता कार्यान्वयन सन्तोषजनक नभएको बताउँदै सरकारलाई दवाव दिने र कार्यान्वयन नगरेमा आन्दोलन गर्ने उहाँहरुको चेतावनी छ ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सहभागिता रहेको थियो ।