• २८ भदौ २०८१, शुक्रबार

तस्बिर र भिडियोग्राफी बुझ्ने ‘मोमेन्टोग्राफी’ कार्यशाला सुरु

blog

काठमाडौँ, पुस १३ गते । तस्बिर तथा श्रव्यदृश्यमा रुचि हुनेहरुका लागि लक्षित गरी ‘मोमेन्टोग्राफी’ कार्यशाला आजदेखि सुरु भएको छ । ओभासु फिल्मद्धारा यहाँ आयोजित १० दिने कार्यशालामा यस विधामा क्रियाशील १५ सञ्चारकर्मी सहभागी छन् । कार्यशाला यही पुस २२ गतेसम्म सञ्चालन हुनेछ । 

कार्यशालामा सहभागीलाई फिल्म निर्माणको कला र विज्ञानबारे अध्ययन गराइने आयोजकले जनाएको छ । आफ्नो कौशललाई तिखार्न यस कार्यशालाले सहयोग पुग्नेछ भने पछिल्ला समयमा आएका प्राविधिक परिवर्तन र यसको प्रयोगबारे कार्यशालामा गहन छलफल हुनेछ । फिल्म निर्माता तथा फोटोग्राफरलाई क्यामेराका माध्यमबाट दृश्यलाई कसरी यथार्थ कलामा प्रस्तुत गर्ने, कथा कथनको आधारभूत कुराबाट जटिलतासम्म कसरी पुग्ने र यसमा प्राविधिक स्रोत साधनको उच्चतम प्रयोग कसरी गर्ने भन्ने विषयमा कार्यशालामा अध्यापन हुनेछ ।

यस १० दिने कार्यशालामा क्यामेराका काम, प्रकाश तथा यिनीहरुको सही संयोजन गर्ने तौर तरिकाका बारेमा जानकारी दिइनाका साथै लेन्सका माध्यमबाट वास्तविक घटना तथा कथालाई दृश्यमा उतार्न प्राविधिक पक्ष तथा त्यसका लागि चाहिने कौशलका बारेमा सहभागीले ज्ञान हासिल गर्ने छन् । कार्यशालामा स्थलगत दृश्य छायाङ्कनदेखि सम्पादनका विषय पनि समेटिने आयोजकले जनाएको छ । 

थाइल्याण्डका प्रसिद्ध सिनेमाटोग्राफर तथा विशेषज्ञ डोर्न रतननाथत्सानी मुख्य प्रशिक्षक रहने यस कार्यशालामा नेपालका वरिष्ठ फोटो पत्रकार मीनरत्न वज्राचार्य, विष्णु कल्पितलगायतले प्रशिक्षण दिनुहुनेछ । कार्यशालाका संयोजक ओभासु शाक्यले तस्बिर तथा भिडियोग्राफी क्षेत्रमा क्रियाशील तथा यस विधामा रुचि भएका व्यक्तिलाई कला र प्रविधिको संयोजनबारे ज्ञान दिलाउन कार्यक्रमको आयोजना गरिएकोे जानकारी दिनुभयो । रासस