• २० वैशाख २०८१, बिहिबार

सूर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी पक्राउ

blog

कास्कीको पोखरा महानगरमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था । तस्बिर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, पुस १३ गते । कास्कीको पोखरा महानगरमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिना अभियोगमा सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामीलाई प्रहरीले पक्राउ गरेको छ ।

सञ्चालक समितिका पदाधिकारी समेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको र सहाकारीको रकम हिनामिना गरेको अभियोग छ । रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ घर भएका ३८ वर्षीय दर्लामीलाई रामेछापबाटै प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिहीबार दर्लामीलाई पक्राउ गरी शुक्रबार कास्की ल्याइएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिनुभयो । सूर्य दर्शनको रकम हिनामिना अभियोगमा १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सहकारीका कोषाध्यक्ष कुमार रम्तेल अहिले पुर्पक्षका लागि थुनामा रहँदा बाँकी सबै फरार छन् ।

देशैभर सहकारी खोलेर बचत र जम्मा रकम हिनामिना गर्ने गीतेन्द्रबाबु(जिबी) राई समूहले सूर्यदर्शन सहकारीको एक अर्ब ३५ करोड ५३ लाख हिनामिना गरेको छानबिनका क्रममा पुष्टि भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको समेत यसमा संंलग्नता रहेको छानबिनमा देखिएको छ । लामिछानेकै खातामा सूर्यदर्शनको एक करोड जम्मा भएको देखिएको छ भने उहाँ संलग्न कम्पनीले समेत करोडौं रुपियाँ सहकारीबाट ऋण लिएको र नतिरेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।