• १४ मंसिर २०८१, शुक्रबार

योजना कार्यान्वयन पुस्तिका प्रयोगमा

blog

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ।

राजकुमार भट्टराई 

खोटाङ, पुस १३ गते । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उपभोक्ता समितिलाई सहजताको लागि योजना कार्यान्वयन पुस्तिका प्रयोगमा ल्याएको छ । योजना सञ्चालनका क्रममा तयार पार्नुपर्ने र प्रयोग हुने सम्पूर्ण कागजात सङ्गृहीत योजना कार्यान्वयन पुस्तिका प्रयोगमा ल्याइएको नगरपालिकाले जनाएको हो । 

पुस्तिका प्रयोगमा आएसँगै कागजातको रेकर्ड फाइल तयार पारेर नगरपालिकाको कोठा–कोठा चहार्नुपर्ने उपभोक्ता समितिको बाध्यताको अन्त्य भएको हो । योजना कार्यान्वयन पुस्तिकाले नगरपालिकाको प्रशासनिक सेवालाई सरल, सहज र पारदर्शी बनाउन सहयोग पुगेको मेयर तीर्थराज भट्टराईले बताउनुभयो । 

योजना कार्यान्वयन पुस्तिकाभित्र उपभोक्ता समिति गठन सम्बन्धी सूचना, उपभोक्ता समिति गठन गर्दाको आमभेलाको निर्णय, लागत अनुमान टिप्पणी र आदेश, योजना सम्झौता कागजात, नागरिकता राख्ने पाना, योजना सम्झौताको टिप्पणी र आदेश, प्रमुख प्रशासकीय अधिकृतको कार्यदेश, सूचना पार्टीको नमुना, किस्तागत-अन्तिम भुक्तानी तथा फरफारक पत्र भर्न मिल्ने गरी राखिएका छन् । 

यस्तै, म्याद थप गर्दाको निर्णय, म्याद थपका लागि निवेदन, खर्च सार्वजनिक सूचना फारम, मेसिनरी उपकरणको भाडा सम्बन्धी सम्झौता, कोटेशन स्वीकृत गर्दाको निर्णय, कोटेशन-दर रेट टाँस्ने पाना, बिल भर्पाइ टाँस्ने पाना, डोर हाजिर फाइल, काम सुरु हुनुभन्दा अघिको फोटो टाँस्ने पाना, काम सुरु हुँदाको फोटो, काम सकिएपछि प्राविधिकले नापजाँच गरेको र सम्पन्न योजनाको होर्डिङ बोर्ड सहितको फोटो राख्ने पाना छुट्याइएका छन् । 

पुस्तिकामा सार्वजनिक सुनुवाइसम्बन्धी सूचना, सार्वजनिक सुनुवाइको निर्णय, सार्वजनिक परीक्षण प्रतिवेदन, अनुगमन समितिको निर्णय, अनुगमन तथा सुपरीवेक्षण समितिको अनुगमन फारम, फरफारक गर्दाको निर्णय, फरफारक तथा अन्तिम भुक्तानीका लागि वडाध्यक्ष र वडा सचिवको सिफारिस तथा नगरपालिकाबाट वडा कार्यालयलाई योजना हस्तान्तरण गर्ने कागजात राखिएका छन्।

योजना कार्यान्वयन पुस्तिका प्रयोगमा आएसँगै अब उपभोक्ता समितिलाई धेरै सहज हुने मेयर भट्टराईले बताउनुभयो । योजना कार्यान्वयन पुस्तिका भरेपछि मेयर, प्रमुख प्रशासकीय अधिकृत हुँदै लेखा अधिकृतको कार्यकक्ष धाइरहन पर्दैन । सिधै योजना शाखामा बुझाएपछि खातामा पैसा हालेर फोनमार्फत जानकारी दिने व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।