• १९ असार २०८१, बुधबार

आदिवासी जनजातिलाई जलवायु परिवर्तनको चिन्ता

blog

कार्यशाला गोष्ठीका सहभागिहरु ।

पोखरा, पुस १३ गते । आदिवासी जनजाति समुदायले जलवायु परिवर्तनको विषयमा चिन्ता व्यक्त गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)को जलवायु परिवर्तन साझेदारी कार्यक्रमअन्तर्गत भएकोे राष्ट्रिय कार्यशाला गोष्ठीमा चिन्ता व्यक्त गरिएको हो । 

तीन दिने कार्यशाला गोष्ठी पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा महासंघका संघीय महासचिव दिवश किरात राईले कार्यशाला महत्वपूर्ण भएको बताउनुभयो । उहाँले पछिल्लो समय जलवायु परिवर्तनको विषयबारे चर्चा भइरहेकाले यस विषयमा आदिवासी जनजाति चनाखो हुनुुपर्ने बताउनुभयो । 

जलवायु परिवर्तनको विषय अहिले हट केकको रुपमा विश्वभर चर्चा भइरहेको छ । “यसको प्रभावबाट नेपालका आदिवासी जनजाति समुदाय प्रत्यक्ष ग्रसित हुने देखिएकाले सचेत हुन आवश्यक छ,” उहाँले भन्नुभयो, “यसको प्रभाव नेपालमा मात्र होइन । अन्य मुलुकमा पनि पर्ने भएकाले यसको न्यूनीकरण र अनुकूलनका लागि विभिन्न संस्थाले कार्यक्रम गर्दै आएका छन् ।” जलवायु परिवर्तनका कारण संस्कृतिको विनाश र पहिचान मेटिन सक्ने महासचिव राईले बताउनुभयो । 

तीन दिनसम्म सञ्चालन भएको कार्यशाला गोष्ठीमा जलवायु परिवर्तन रोक्नका लागि विभिन्न संघ संस्थाहरुको योजना र प्रयासबारे चर्चा भएको थियो । उक्त कार्यशालामा जलवायु परिवर्तनको संकेत, कारण तथा असरहरु, यसको न्यूनीकरण र अनुकूलनबारे छलफल भएको थियो ।

नेफिन जलवायु परिवर्तन साझेदारी कार्यक्रमका निर्देशक टुंग राई, धनमान गुरुङ, छिरिङ वाङ्मो गुरुङ, रेड कार्यान्वयन केन्द्रका नवराज पुडासैनी, एइएसीका मुक्ति विक्रम क्षेत्री र आइयुसिएनका युवराज गुरागाँईलगायतले प्रशिक्षण दिनु भएको थियो । कार्यशालामा देशभरबाट २० पुरुष, २० महिला गरी जम्मा ४० जना आदिवासी जनजातिको सहभागिता थियो ।