• १४ मंसिर २०८१, शुक्रबार

विमानस्थल बन्यो गौचरन र वनभोज थलो

blog

नारायणकुमार श्रेष्ठ 

सोलुखुम्बु, पुस १३ गते । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–२ मा रहेको काँगेलडाँडा विमानस्थल जहाजको पर्खाइमै सीमित रहेको छ । काँगेलडाँडा विमानस्थल प्रयोगमा नआउँदा करिब एक दशकदेखि विमानस्थल गौचरन र वनभोज थलोेका रूपमा प्रयोग हुँदै आएको छ ।

राज्यको करोडौँ लगानीमा २०५२ सालमा निर्माण गरिएको विमानस्थलमा केही वर्ष हवाई सेवा सञ्चालनमा आए पनि २०७२ सालपछि उडान तथा अवतरण ठप्प बनेको हो । नेचासल्यान, थुलुङ दुधकोशी, महाकुलुङ, सोताङ गाउँपालिका तथा खोटाङका केही भागका नागरिकलाई सहजताका लागि काँगेलडाडाँमा विमानस्थल निर्माण गरिएको थियो । स्थानीय मानबहादुर कार्कीले पहिले हवाई सेवा सञ्चालन भएको तर अहिले हवाई सेवा सञ्चालनमा नआउँदा विमानस्थल गौचरन र स्थानीय विद्यालय सङ्घ संस्थाका मानिसको वनभोज गर्ने  थलोका रूपमा परिणत भएको  बताउनुभयो । विमानस्थल घाँसे मैदान जस्तो भएको छ । त्यहाँका भौतिक संरचना दिन दिनै जीर्ण बन्दै गएको छ ।

अहिले विमानस्थल रेखदेखका लागि पाँच जना सुरक्षाकर्मी भने खटाइरहेको छ । सङ्घीय सरकार मातहत रहेको उक्त विमानस्थल सञ्चालनमा ल्याउन २०७७ साल मङ्सिर २९ गते परीक्षण उडान भएको थियो । विमानस्थल सञ्चालनका लागि सो समयमा थुलुङ दुधकोशी गाउँपालिकाले गरेको पहलका कारण तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले स्थलगत निरीक्षण पनि गर्नुभएको थियो । 

पहिले सडक यातायातको विकल्पका रूपमा हवाई सेवालाई लिने गर्दथ्यो अहिले हवाई यातायातको विकल्पका रूपमा सडक यातायात गाउँ गाउँ पुगेको कारण पनि हवाई सेवा सञ्चालनमा प्रभाव परेको देखिन्छ ।