कालीकोट समाचारदाता
कालीकोट, पुस १३ गते । रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले पालिकाका विभिन्न शाखामा विभेदपूर्ण तरिकाले सरुवा गर्दै आउनुभएको आरोप लागेको छ ।
प्रमुख शाहीले नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमलाई प्रभावमा पारी आफ्नो विपक्षका कर्मचारीलाई धमाधम सरुवा गर्दै आएको आरोप लागेको हो ।
आफ्नो पार्टीविपरीत आस्था राख्ने कर्मचारीलाई सके नगरपालिकाबाटै अन्यत्र सरुवा गर्ने, त्यति नभएमा घर अपायक पठाउने गरेको आरोप कर्मचारीले लगाएका छन् । रास्कोट नगरपालिका–९, फुकोट स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेव शङ्करप्रसाद बराललाई राजनीतिक पूर्वाग्रहका कारण नगर अस्पतालमा काज सरुवा गरिएको बताइन्छ । स्वास्थ्य चौकीमा उत्कृष्ट काम गर्दै आएका बराललाई सरुवासहित जिम्मेवारी पनि खोसिएको छ । अस्पतालमा सरुवासँगै आफूभन्दा जुनियरको मातहतमा बस्ने गरी पठाइएको बरालले गुनासो गर्नुभयो ।
आफ्नो सरुवासँगै जिम्मेवारी खोसिएको जानकारी पाएपछि नगर प्रमुख शाहीलाई भेट्न पुगेको तर फरक आस्था भएकाले जिम्मेवारी हेरफेर गरिएको भन्ने रुखो जवाफ आफूले पाएको बरालले बताउनुभयो । उहाँका अनुसार जुनियर नगराज बराललाई आफ्नो ठाउँमा स्युना स्वास्थ्य चौकीबाट पठाइएको छ । नेकपा (माओवादी केन्द्र) को पार्टी सदस्यता नलिएकै कारण बरालसँगै अन्य कर्मचारी तिलक बराल, गोकर्ण धमलालाई जिम्मेवारीबाट हटाएर उहाँहरूको ठाउँमा जुनियर अहेव रीता शाह, अमराज न्यौपानेलाई काज सरुवा गरिएको बताइन्छ । तिलक बराल र गोकर्ण धमला यसअघि आधारभूत स्वास्थ्य एकाइका इन्चार्ज हुनुहुन्थ्यो ।
यसअघि स्वास्थ्य शाखा प्रमुख हंशराज बराललाई एकाएक जिम्मेवारीबाट हटाइएको थियो । अहिले स्वास्थ्य शाखा प्रमुख खाली छ । त्यहाँ आफ्नो मन लागेको र आस्था राख्ने कर्मचारीलाई ल्याउने तयारी भएको कर्मचारी नै बताउँछन् । नगर प्रमुख शाहीले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक आफ्नो पार्टीनिकट शिक्षक सङ्गठनको नभएका कारण काज सरुवा गराएर विद्यालयका प्रअमा जम्मै आफ्ना मान्छेलाई जिम्मेवारी दिइएको जनाइएको छ ।
मोतीराम माध्यमिक विद्यालय सिप्खाना, कालिका आधारभूत विद्यालय लहरेला, सुन्दर आवि रामपुरलगायतका प्रअलाई काज सरुवा गराएर आफ्ना शिक्षक सङ्गठनमा कार्यरत शिक्षकलाई प्रअ बनाइएको बताइन्छ । कर्मचारीको मनलाग्दी सरुवामा निमित्त प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमको पनि मौन सहमति रहेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत बमले आफू सरकारको मातहतमा रहेकाले निर्णय मान्नुपर्ने बताउनुभयो । छ महिनामा सबैलाई काज सरुवा गर्ने निर्णय नगरपालिकाको भएको उहाँको भनाइ छ ।