काठमाडौं, पुस १२ गते । प्रहरीले वैदेशिक रोजगारीका लागि अजरबैजान पठाउने भनी ६ लाख ७७ हजार रुपियाँ लिई सम्पर्कविहीन रहेका हरि कुमार दाहाललाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार स्थायी घर खोटाङ दिक्तेल रुपाकोट मझवागडी नगरपालिका–६ भई हाल काठमाडौँको बुढानीलकण्ठ बस्ने ५१ वर्षीय दाहाललाई काठमाडौँबाट पक्राउ गरिएको छ ।
दाहालले खेम बहादुर डाँगीलाई अजरबैजान जान ६ लाख ५० हजार रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि होटलमा मासिक तलब ७५ हजार रुपियाँ हुन्छ भनी प्रलोभनमा पारेका थिए । प्रहरीले उनलाई पक्राउ गरी वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाइएको प्रहरीले जनाएको छ ।
यसैगरी, प्रहरीले दुई वर्षीय बालिकालाई सकुशल उद्धार गरी अपहरणकारीलाई पक्राउ गरेको छ ।
स्थायी घर रामेछाप भई हाल भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं. ४ बालकोट बस्ने ३७ वर्षीय राज नेपालले भक्तपुरको गोठाटार बस्ने दुई वर्षकी बालिकालाई पुस १० गते काठमाडौँको गौशालाबाट अपहरण गरेका थिए ।
निवेदन प्राप्त भएको ३६ घण्टाभित्र विशेष प्रहरी टोलीले बालकोट पानीट्याङ्कीबाट बालिकाको उद्धार गरी पीडितलाई जिम्मा लगाइएको र अपहरणकारीलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।