सिराज खान
नेपालगन्ज, पुस १२ गते। लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका महिला उद्यमीहरूको स्थानीय उत्पादनलाई बजारीकरण, प्रोत्साहन र नव उद्यमीलाई उत्प्रेरणा दिने उद्देश्यले नेपालगन्जमा प्रदेश स्तरीय प्रदर्शनी हुने भएको छ।
महिला उद्यमी सङ्घ नेपाल बाँकेको आयोजनामा पुस २४ देखि २८ गतेसम्म लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी आयोजना गरिने महिला उद्यमी सङ्घ नेपाल बाँके अध्यक्ष सावित्री बस्नेतले बताउनुभयो।
उहाँले विगत केही वर्षबाट निरन्तर आयोजना हुँदै आएको सो प्रदर्शनीले महिलाहरूलाई उद्यमतर्फ आकर्षित गराउँदै उनीहरूको उत्पादनलाई बजारमा पुर्याउन सहयोग गर्नुका साथै राज्यको आर्थिक विकासमा योगदान गरिरहेकोले यसलाई निरन्तरता दिएको बताउनुभयो।
यसले प्रदेशभरकै महिला उद्यमीलाई आत्मनिर्भर बन्न थप प्रेरणा दिँदै आएको जनाउँदै अध्यक्ष बस्नेतले यस वर्ष केही नयाँ अभ्यास गर्दै थप आकर्षक प्रदर्शनी आयोजना गर्ने तयारी भइरहेको बताउनुभयो।
सो प्रदर्शनीका संयोजक तथा महिला उद्यमी सङ्घका प्रथम उपाध्यक्ष रेवती सिंहले प्रदर्शनीले महिला उद्यमीमा नयाँ उत्साह र हौसला थपिरहेको जनाउँदै स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै आयोजना गरिने यस प्रदर्शनीले महिला उद्यमीका उत्पादनलाई बजारीकरणमा ठुलो सहयोग गरेको बताउनुभयो ।
उहाँले देशलाई आर्थिक रूपमा बलियो बनाउन घरेलु उत्पादन, स–साना घरेलु उद्योगको भूमिका महत्त्वपूर्ण हुने हुँदा तिनै उद्योग र उत्पादनलाई प्रदर्शनी मेला मार्फत बजारीकरण गर्दै आएको बताउनुभयो।
लुम्बिनी प्रदेश स्तरीय सो प्रदर्शनीमा यस पटक ६० बढी महिला उद्यमीहरूको स्टल रहनेछन्।प्रदर्शनी आयोजना गर्नको लागि करिब १० लाख खर्च हुने अनुमान गरिएको छ।प्रदर्शनी अवधिमा करिब आठ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ स्थित बागेश्वरी मन्दिर परिसरमा रहेको चिल्ड्रेन पार्कमा पाँच दिनसम्म चल्ने प्रदर्शनीमा लुम्बिनी प्रदेशको १२ जिल्लाबाट महिला उद्यमीको सहभागिता रहनेछ।