• ९ असार २०८१, आइतबार

प्रधानमन्त्री कप : एपीएफ छैटौँ जितसहित क्वालिफायरमा

blog

जितपछि एपीएफका खेलाडी ।

काठमाडौँ, पुस १२ गते । विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार छैटौँ जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ५२ रनले हरायो । जितसँगै ६ खेलबाट १२ अङ्कसहित शीर्ष स्थानमा रहेको एपीएफले पहिलो क्वालिफायर खेल्ने पक्का भएको छ । पराजित गण्डकी दुई अङ्कसहित सातौँ स्थानमा छ । 

जितका लागि एक सय २८ रनको लक्ष्य पछ्याएको गण्डकी २० ओभरमा सात विकेटको क्षतिमा ७५ रनमा समेटिएको थियो । गण्डकीका लागि सृष्टि जैसी र सुमन खतिवडाले समान १७÷१७, ज्योत्स्निका मरासिनीले १३ र सिर्जना पौडेलले ११ रन बनाउनुभयो । बलिङमा एपीएफका नेरी थापाले चार विकेट लिनुभयो । सोमु खड्काले दुई र कुसुम भण्डारीले एक विकेट लिनुभयो । 

यसटस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय २७ रन बनाएको थियो । एपीएफका लागि ममता चौधरीले अविजित ४० रन बनाउनुभयो । रोमा थापाले अविजित ३१, कप्तान सीता रानामगरले १९ र इन्दु बर्माले १० रन जोड्नुभयो । बलिङमा गण्डकीका लागि ज्योत्स्निका मरासिनीले दुई तथा कप्तान कुसुम गोदारले एक विकेट लिनुभयो। 

यस्तै मूलपानी मैदानमा भएको अर्को खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई १० विकेटले हराउँदै प्लेअफमा स्थान बनाएको छ । जितको लागि ४३ रनको सामान्य लक्ष्य पछ्याएको बागमतीले ४.५ ओभरमा विना विकेटको क्षतिमा पूरा गरेको थियो । बागमतीको जितमा यशु पाण्डेले अविजित २५ रन बनाउनुभयो । हेलिसा गुरुङले १३ रन जोड्नुभयो । 

यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले १३.४ ओभरमा सबै विकेटको क्षतिमा ४२ रन बनाएको थियो । 

कर्णालीकी सुर्ती बुढाले १६ र विना थापाले १२ रन बनाउनुभयो । बलिङमा खुसी डङ्गोलले चार विकेट लिइन् । संस्कृति फुयाँलले दुई, सोनी पाख्रिन र विपिशा शाहीले एक एक विकेट लिनुभयो । जितसँगै ६ खेलबाट आठ अङ्क बनाएको बागमती चौथो स्थानमा छ ।