• ९ असार २०८१, आइतबार

मजदुरले ज्याला बापतको रकम पाएनन्

blog

काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–८ मा रहेको घर्तीछाप स्वास्थ्य चौकीको भवन । तस्बिर : केदार तिमल्सिना

केदार तिमिल्सना 

बनेपा, पुस १२ गते । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–८ घर्तीछापमा निर्माण भएको तीन वर्ष पुग्दा पनि स्वास्थ्य चौकी निर्माण गर्ने मजदुरले ज्याला नपाएको गुनासो गरेका छन् । 

आफूहरूले कामको ज्याला नपाएको तथा काम गर्ने मजदुरलाई खाना खुवाउने होटलले रकम नपाएको भन्दै ज्याला र खानाको रकम उपलब्ध गराइदिन गाउँपालिकाको न्यायिक समितिहुँदै जिल्ला प्रहरीसमक्ष पीडितहरूले माग गरेका छन् । 

सहरी विकास मन्त्रालयको सहयोगमा सुनकोशी निर्माण सेवाले वि.सं. २०७२ सालबाट घर्तीछाप स्वास्थ्य चौकी निर्माण सुरु गरेको थियो । स्वास्थ्य चौकी निर्माण सुरु गरिएको पाँच वर्षपछि अर्थात् २०७७ सालमा स्वास्थ्य चौकी निर्माणको काम सम्पन्न भएको थियो । 

स्वास्थ्य चौकी निर्माण सम्पन्न भएको तीन वर्ष हुँदा पनि निर्माण व्यवसायी बिरबल लामाले मजदुर र होटल, पसलको रकम नदिएका कारण हालसम्म पनि भवन हस्तान्तरण समेत हुन सकेको छैन । “स्वास्थ्य चौकी निर्माणको काम गर्ने मजदुरलाई खाना खुवाउनु भन्दै खाना खुवाए, खाना खुवाएबापत मैले निर्माण व्यवसायीबाट सात लाखभन्दा बढी रकम लिन बाँकी छ, अहिलेसम्म जम्मा दुई हजार रुपियाँ मात्र पाएको छु” स्थानीय ध्रुवकुमार दर्लामीले भन्नुभयो । 

महाभारत गाउँपालिकाका उपाध्यक्ष सागर मोक्तानले स्वास्थ्य चौकी निर्माण गर्ने निर्माण व्यवसायीले स्थानीय मजदुर र पसलको रकम नतिरेपछि रकम उपलब्ध गराइदिन २९ जना मजदुर, होटल तथा पसल सञ्चालकले वि.सं. २०७९ साउन ११ गते न्यायिक समितिमा निवेदन दिएको बताउनुभयो ।

उहाँले स्थानीयको निवेदनपछि न्यायिक समितिले निर्माण व्यवसायी बिरबल लामालाई पत्र र फोन गरेर छलफलमा आउन आग्रह गरे पनि बेवास्ता गरेपछि छलफलका लागि गत जेठ ७ गते जिल्ला प्रशासन प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई अनुरोध गरेको थियो । 

“प्रहरीले छलफल गर्दा भदौ महिनामा मजदुर र होटल तथा पसलहरूको रकम तिर्छु भनेपनि मङ्सिरको अन्तिम हुँदा समेत रकम दिइएको छैन” उपाध्यक्ष मोक्ताले भन्नुभयो । उहाँले निर्माण व्यवसायीले स्थानीय मजदुर, पसल तथा होटलको गरी करिब ३६ लाख रकम भुक्तानी दिन बाँकी रहेको बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले स्वास्थ्य चौकी निर्माणवापतको रकमको ज्याला नपाएको विषयमा प्रशासन कार्यालयबाट छलफल गराउन निर्देशन भएको बताउनुभयो । उहाँले ज्याला नपाएको विषयमा छलफलका लागि निर्माण व्यवसायी बिरबल लामालाई बोलाइएको बताउनुभयो । 

यस सम्बन्धमा बुझ्ने प्रयास गर्दा निर्माण व्यवसायी लामाको मोबाइल अफ रहेको छ । स्वास्थ्य चौकी निर्माण गर्ने व्यवसायीले टायल, मार्बलको काम गर्ने, सिमेन्ट घोल्ने, झ्यालढोकाको खापा, खाना खुवाएको, पसलबाट सामान लगेको, बालुवा ढुवानी गरेबापतको रकम पाउँ भन्दै २९ जनाले ५६ लाख ३९ हजार ६५८ रुपियाँ रकम पाउनुपर्ने दाबी गर्दै गाउँपालिकाको न्यायिक समितिमा निवेदन दिनुभएको छ ।