• ८ असार २०८१, शनिबार

वैतेश्वरका ग्रामीण सडक ढलान हुँदै

blog

सुजन काफ्ले                                                                                                                     

चरीकोट, पुस १२ गते । जिल्लाको वैतेश्वर गाउँपालिकाभित्रका मुख्य ग्रामीण सडक धमाधम ढलान गरिएको छ । गाउँपालिकाको वडा नम्बर ३ र ४ लाई जोड्ने मुख्य ग्रामीण सडक ज्यामिरे बगर सडक र वडा नम्बर-६ को नाम्दु घिमिरेटार सडकको पहिलो चरणको ढलान गर्ने कार्य अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।

वैतेश्वर गाउँपालिका र बागमती प्रदेश सरकारको अनुदान सहयोगमा मैनापोखरी ज्यामिरे-बगर सडकको ढलानको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका सब इन्जिनियर विश्वास घिमिरेले बताउनुभयो । उक्त सडक निर्माण गर्न वैतेश्वर गाउँपालिका र बागमती प्रदेश सरकारले चालु वर्ष ५०-५० लाख बजेट विनियोजन गरेको थियो । सडकको ढलान कार्य गाउँपालिकाले ठेक्कामार्फत गरिरहेको छ । यस सडक खण्डमा पहिलो चरणमा करिब साढे पाँच सय मिटर सडक ढलान हुने सब इन्जिनियर घिमिरेले बताउनुभयो । 

गाउँपालिका-६ को नाम्दु घिमिरेटार सडकमा बागमती प्रदेशको २५ लाख अनुदानमा दुई सय मिटर ढलान सम्पन्न भएको उहाँको भनाइ छ । त्यसैगरी पालिकाको ५० लाख र बागमती प्रदेशको ५० लाख अनुदानमा अस्पताल-पाँडुडाँडा सडक र वडा नम्बर-६ र ७ लाई जोड्ने च्यानडाँडा-छाप सडकमा पनि ढलान गर्न तयारी थालिएको गाउँपालिकाले जनाएको छ । च्यानडाँडा- छापसडक ढलानको लागि पनि पालिका र प्रदेश सरकारको ५०-५० लाख बजेट विनियोजन गरिएको छ । 

नाम्दु-पाँडुडाँडा सडक ढलान गर्न सङ्घीय सरकारको ७५ लाख अनुदान पालिकाले एक करोड २५ लाख बजेट विनियोजन गरेको छ । पालिकाले पुराना ४ सडक गोपी-जोरमाने सडक, बुस्ती- पुतलिकाठ सडक, देउराली-क्षत्रपा सडक ढलान गर्न प्रति सडक दुई करोडको दरले ढलान गर्न ठेक्का लगाइसकेको वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए।सडकमा ढलान गर्न सुरु गरेसँगै पालिका अध्यक्ष लामा र उपाध्यक्ष कल्पना उप्रेतीले अनुगमनलाई तीव्रता दिनुभएको छ ।

पालिकाले यस वर्ष करिब ९ किलोमिटर सडक ढलान गर्ने योजना बनाएको अध्यक्ष लामाले बताउनुभयो । पालिकालाई ५ वर्षभित्र हिलोमुक्त बनाउने अभियान अन्तर्गत धमाधम स्थानीय सडक तथा ग्रामीण गोरेटो बाटो निर्माण गर्ने कार्यलाई तीव्रता दिएको वैतेश्वर गाउँपालिका योजना शाखा प्रमुख वासुदेव दहालले जानकारी दिनुभयो । पालिकाले चालु वर्ष ९ किलोमिटर पक्की सडक र साढे पाँच किलोमिटर गोरेटो बाटो निर्माण गर्ने जनाएको छ ।