• ६ माघ २०८१, आइतबार

दूषित पानीका कारण रोगको सङ्क्रमण

blog

खुखजोर खोलामा जम्मा भएर बसेको ढल्केबरस्थित डिडिसीको दुग्ध डेरीबाट निस्किएको प्रदूषित पानी । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, पुस ११ गते । धनुषाको ढल्केबरमा डिडिसीको दुग्ध डेरीबाट निस्कने प्रदूषित पानीका कारण स्थानीयवासी आजित भएका छन् । डेरीले प्रदूषित पानीको उचित व्यवस्थापन नगर्दा स्थानीय आजित भएका हुन् । 

करिब दश वर्ष अघिदेखि सञ्चालनमा रहेको डेरीबाट निस्कने फोहोर पानीलाई प्रशोधन नै नगरी सिधै सुखजोर खोलामा छोड्ने गरेको छ । प्रदूषित पानी खोलामा मिसाउँदा खोला दूषित हुनुका साथै खोला वरिपरिका बस्तीमा दुर्गन्ध फैलिएको छ । दुर्गन्ध फैलिएर बस्तीका मानिस बिरामी पर्न थालेकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने स्थानीयको भनाइ छ । 

स्थानीयवासी अमरेन्द्र महतोका अनुसार ३५ भन्दा बढी घरपरिवार सङ्ख्या रहेको यस बस्तीमा अहिले प्रत्येक घरमा ज्वरोका बिरामी छन् । "दुर्गन्धले घरमा बस्न सक्ने अवस्था छैन । दूषित पानीले लाम्खुट्टेकाे सङ्ख्या पनि अत्यधिक बढेको र सो दूषित पानी खाएर चौपायाको मृत्यु भएको छ," उहाँले भन्नुभयाे । 

दूषित पानी खाएर एउटा भैँसी र दुईवटा बाख्रा मरेको बताउँदै स्थानीयवासी अमरेन्द्रले प्रदूषित पानीको उचित व्यवस्थान गर्नका लागि डेरी प्रशासन र स्थानीय तहका जनप्रतिनिधिसमक्ष माग राख्दा पनि सुनुवाइ नभएको जानकारी दिनुभयो । 

अर्का स्थानीयवासी सिंहेश्वर यादवले दुर्गन्धका कारण खाना पनि नरुच्ने गरेको बताउनुभयो । "खाना खाँदा वान्ता होला जस्तो हुन्छ । लाम्खुट्टेले टोकेर त्यतिकै हैरान बनाउँछ । छिट्टै यसलाई नियन्त्रण गरेन भने दुुग्ध डेरी घेराउ गर्छौं", उहाँले भन्नुभयो । 

जनकपुर दुग्ध वितरण आयोजना (डिडिसी) ढल्केवबका प्रमुख दिलीप चौधरीले डेरीबाट निस्किने पानीलाई व्यवस्थित गर्नतर्फ लागेको बताउनुभयो । यसअघि पनि पाइपलाइन गरेर व्यवस्थित गरिएको बताउँदै उहाँले खोलामा आएको बाढीले पाइप भत्काएपछि पानी जम्मा भएर दुर्गन्ध फैलिएको हुनसक्ने जानकारी दिनुभयो ।