सिलगढी (डोटी) पुस, ११ गते । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले सुरक्षा सुनिश्चितता विना राष्ट्रमा विकासले गति लिन नसक्ने बताउनुभएको छ । डोटी जिल्ला सदरमुकाम सिलगढीमा जिल्ला प्रहरी कार्यालय डोटीका नवनिर्मित भवनहरूको उद्घाटनका क्रममा महानिरीक्षक कुँवरले भयरहित वातावरणको सृजनापछि मात्र राज्यले लक्ष्य लिएको विकास सन्दर्भमा विभिन्न कार्यहरू बढाउन सकिने हुँदा सुरक्षा सुनिश्चितताका लागि नेपाल प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको विषयमा जोड दिनुभयो ।
महानिरीक्षक कुँवरले भन्नुभयो,–‘‘स्थानीय सरकार, सरकारी तथा गैरसरकारी क्षेत्र लगायत सरोकारवालाहरूले शान्ति सुरक्षाका सम्बन्धमा एक भएर अगाडि बढ्न आवश्यक छ । नेपाल प्रहरीले आन्तरिक सुद्धिकरणलाई अभियानका रूपमा नै अगाडि बढाएर नागरिक मैत्री प्रहरी हुनुपर्दछ भन्ने मान्यता लिएको छ ।”
कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भरत बहादुर बोहराले विगतमा डोटी प्रहरीले जीर्ण र असुरक्षित भवनबाट सेवा प्रवाह गर्दै आएकोमा नवनिर्मित भवनहरूबाट सेवा प्रवाह गर्ने क्रममा प्रहरी कर्मचारीहरूको मनोबल उच्च हुने विश्वास व्यक्त गर्नु भयो ।
स्थानीय स्तरमा भौतिक पूर्वाधारहरुमा आत्मनिर्भर हुँदै जनस्तरमा समर्पित एवं गुणस्तरीय सेवा दिने उद्देश्यले नेपाल सरकारको नियमित बजेट अन्तर्गत भवनहरू निर्माण गरिएका हुन । जिल्ला प्रहरी कार्यालय डोटीको हाता भित्र कार्यालय भवन, कार्यालय प्रमुख निवास, वरिष्ठ अधिकृत निवास, मेस भवन, हिरासत कक्ष, ब्यारेक भवन, भान्साघरलगायतका भवनको उद्घाटन गरिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार भवनहरू निर्माण सम्पन्न गर्नमा दश करोड ८ लाख ६३ हजार ४६४ रुपियाँ खर्च भएको हो । सम्पूर्ण भवनहरूको निर्माण कार्य तोकिएको समयमा नै सम्पन्न भएको बताइएको छ । भवन उद्घाटनका क्रममा भवन निर्माण सम्पन्न गर्न सहयोग गर्नेहरूलाई सम्मान गरिएको छ ।