सिन्धुपाल्चोक समाचारदाता
सिन्धुपाल्चोक, पुस ११ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीपरिषद् र संसद्मा कक्षा १२ सम्म निःशुल्क शिक्षा उपलब्ध गराउनका लागि आफूले निरन्तर आवाज उठाइरहेको बताउनुभएको छ । गृहनगर बाह्रबिसेस्थित क्षमादेवी माध्यमिक विद्यालयको ७३ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले नेपालको संविधानको धारा ३५ मा शिक्षा, स्वास्थ्यलाई जनताको मौलिक हक उल्लेख भएकाले १२ कक्षासम्म निःशुल्क शिक्षा पाउनुपर्नेमा जोड दिनुभयो ।
मौलिक हकमा लिपिबद्ध कुरामा पनि नागरिकले महँगो शुल्क तिरेर शिक्षा र स्वास्थ्य उपचार लिनु परेकाले वर्तमान सरकार १२ कक्षासम्म निःशुल्क शिक्षा र स्वास्थ्य उपचार निःशुल्क गर्ने प्रव्रिmयामा लाग्ने मन्त्री बस्नेतले बताउनुभयो । आफ्नो निर्देशनमा बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र भोटेकोशी गाउँपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिँदै आएको र कक्षा ८ सम्म सबै विद्यार्थीलाई दिवा खाजा दिइरहेको उहाँले प्रस्ट पार्नुभयो । गरिबले पनि पढ्न पाउने अधिकारलाई सुनिश्चित गर्न मुलुकभरका शिक्षण संस्थामा १२ कक्षासम्म निःशुल्क शिक्षा पाउनुपर्नेमा बस्नेतले जोड दिनुभयो ।
आफू स्वास्थ्यमन्त्री भएका हैसियतले अब कुनै पनि नेपाली पैसा नभएर उपचारको अभावमा मर्नु नपर्ने उहाँले बताउनुभयो । “तपाईंसँग कोही बिरामी पैसा नभएर उपचार गर्न पाएको छैन भने मलाई जिम्मा दिनोस्, म उपचार गर्ने जिम्मा लिन्छु,” मन्त्री बस्नेतले भन्नुभयो । शारदा माविमा आफूले विद्यालय तहको शिक्षा लिएको स्मरण गर्दै मन्त्री बस्नेतले भन्नुभयो, “म अहिले जे छु, त्यो सबै यस विद्यालयको शिक्षाबाट भएको हुँ । सुरुवाती चरणमा २०४० सालबाट शारदा माविमा निःशुल्क कोचिङ कक्षा सञ्चालन गरेको र त्यसपछि जिल्ला हँुदै राजधानी र अन्यत्र स्थानमा निःशुल्क कोचिङ कक्षा चलाउँदै आएको बस्नेतले स्मरण गर्नुभयो । भौतिक निर्माण, शिक्षक दरबन्दी, निःशुल्क कोचिङलगायतका क्षेत्रमा आफूले काम गरेको बताउँदै उहाँले जनताका छोराछोरीले निःशुल्क शिक्षा पाउन र निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर सिर्जना गर्नेतर्फ लाग्न सबै तहका नेताहरूलाई आग्रह गर्नुभयो ।
त्यस्तै जिल्ला समवन्य समितिका प्रमुख बालकृष्ण श्रेष्ठले जिल्लाको शिक्षा क्षेत्रमा गुणस्तर वृद्धि हुनुपर्नेमा जोड दिनुभयो । भौतिक पूर्वाधार पर्याप्त भए पनि शैक्षिक गुणस्तर वृद्धि हुन नसकेकाले प्रविधिमैत्री, विद्यार्थीमैत्री शिक्षा आवश्यक भएको श्रेष्ठले बताउनुभयो । बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले आफू नगरमा चुनिएर आएपछि शिक्षा, स्वास्थ्य, विकास निर्माणमा उल्लेखनीय कार्य भएको बताउनुभयो । उहाँले नगरका सबै विद्यालयमा गत वर्षदेखि नै कक्षा १२ सम्म निःशुल्क शिक्षा र कक्षा ८ सम्म दिवा खाजा उपलब्ध गराउँदै आएकाले विद्यालयमा विद्यार्थी टिक्ने, गरिब, विपन्नले पनि उच्च शिक्षा लिन पाएको बताउनुभयो ।