• १३ मंसिर २०८१, बिहिबार
blog

कपिल ज्ञवाली

सिद्धार्थनगर, पुस ११ गते । जीर्ण अवस्थामा रहेको रुपन्देहीको बुटवल धागो कारखाना संरक्षणमा सरकारी बेवास्ता देखिएको छ । कारखाना संरक्षणमा सरकारकै दुई मन्त्रालयको कुरा बाझिएको छ । अर्थ मन्त्रालयले रेखदेख गर्ने जिम्मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई दिने निर्णय गरे पनि त्यसको कार्यान्वयन हाललाई रोकिने भएको छ ।

दुई महिनाअगाडि अर्थ मन्त्रालयले धागो कारखानाको संरक्षण र रेखदेख गर्ने जिम्मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई दिने निर्णय गरेको थियो तर उद्योग मन्त्रालयले त्यसमा असहमति जनाएपछि हाललाई उक्त निर्णय कार्यान्वयन हुन नसकेको हो ।

अर्थ मन्त्रालयले बुटवल धागो कारखाना औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड एउटै मन्त्रालय अन्तर्गत रहेको र जग्गा पनि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा भएकाले संरक्षण गर्न व्यवस्थापन लिमिटेडलाई जिम्मा दिने योजना बनाएको थियो तर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले संरक्षण गर्दा लाग्ने खर्च, बरबुझारथ नभएको अवस्थामा के गर्ने भन्दै निर्देशनात्मक आदेशका लागि उद्योग मन्त्रालयलाई पत्राचार गरेको थियो ।

उद्योग मन्त्रालयले हाल उक्त जिम्मा नलिने बरु बजेट व्यवस्थापन गरेर हाल हेरेको धागो कारखाना यथावत् राख्ने निर्णय गरेको उद्योग मन्त्रालयका औद्योगिकीकरण क्षेत्र हेर्न महाशाखाका अधिकृत युवराज अर्यालले जानकारी दिनुभयो ।

डेढ दशकदेखि बन्द रहेको धागो कारखानाको सञ्चालक समितिले असोज ११ गते औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई पत्र पठाएर कर्मचारीको तलबसमेत खुवाउन नसकेको भन्दै कारखानाको सुरक्षा जिम्मेवारी लिन आग्रह गरेको थियो ।

अहिले कारखानाको संरचना, मेसिनलगायत सामग्री बरबुझारथका लागि भन्दै तीन जना कर्मचारी खटाइएका छन् । कारखाना सञ्चालक समितिमा उद्योग विभागका महानिर्देशक अध्यक्ष तथा अर्थ मन्त्रालय, साल्ट ट्रेडिङ कर्पोरेसन, जनकपुर चुरोट कारखाना र हिमाल सिमेन्टका प्रतिनिधि सदस्य छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी उपसचिव भूषणकुमार उपाध्यायले आफूहरूले मागेको आदेशका कुनै पनि पत्र उद्योग मन्त्रालयले नपठाएपछि अहिले जे छ, त्यसै गरी चलाउने हो भन्ने बुझाइ रहेको उल्लेख गर्नुभयो ।

२०६४ सालदेखि उत्पादन बन्द रहेको बुटवल धागो कारखानाले २०६६ साल असोजदेखि कर्मचारीलाई अनिवार्य अवकाश दिएको थियो । १४३ रोपनी क्षेत्रफलमा रहेको यो उद्योग परिसरमा छ वटा ठुला भवन छन् । कर्मचारीको तलब, सुविधा र औद्योगिक क्षेत्रलाई जग्गा भाडाबापतको खर्च धागो कारखानाले दिनुपर्ने हुन्छ । जग्गाको एक करोडभन्दा धेरै रकम तिर्न बाँकी छ ।

पूर्वपश्चिम राजमार्गसँग जोडिएको बुटवलका धागो कारखानाका अधिकांश मेसिन बिग्रिएका छन् । कारखानाभित्र रहेका छुट्टाछुट्टै भवनमा रहेका विभिन्न सामान हराउन थालेका छन् । कारखानामा ठुलो मात्रामा तार तथा सामान हराएको खुलेको छ । सो तार हराएको विषयमा इलाका प्रहरी कार्यालय बुटवलमा निवेदनसमेत परेको छ । 

धागो कारखानाका आइसियु, भेन्टिलेटर, जनरल वार्ड बनाइएका र अन्य स्थानमा भूमिगत रूपमा जडान गरिएका फिडर वायर चोरी भएको हो । धागो कारखानाले उक्त तामाको वायर एक करोड रुपियाँभन्दा बढी मूल्य बराबरको रहेको जनाएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताउनुभयो ।