काठमाडौँ, पुस १० गते । गोल्डेन गेट र बूढानीलकण्ठ समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । गोल्डेन गेट पुरुष तथा बूढानीलकण्ठ महिलामा च्यमम्पियन भए । बूढानीलकण्ठको पुरुष टोली फाइनल पुगेपनि उपाधि भने जित्न सकेन ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मङ्गलबार भएको पुरुष फाइनलमा गोल्डेन गेटले बूढानीलकण्ठलाई १००–८८ ले हरायो । गोल्डेन गेटका नुकेश मगरले २८ स्कोर गर्नुभयो ।
समृद्धि स्कुलको सहकार्यमा नेपाल बास्केटबल सङ्घद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिलाको उपाधि भिडन्तमा बूढानीलकण्ठले आईएसए नेपाललाई २८–१८ ले हरायो ।
विजयी टिमका लागि रिन्चेन मोक्तानले १९ अङ्क जोड्नुभयो। पुरुष÷महिला दुवैमा पहिलो हुनेले ३० हजार तथा दोश्रोले १५ हजार रुपियाँका दरले नगद पुरस्कार पाए ।
फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय नुकेश र रिन्चेन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । दुवैले जनही पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभयो । पुस ३ गतेदेखि सुरु प्रतियोगिताको पुरुषमा २० तथा महिलामा पाँच टोली सहभागी थिए ।