सिराज खान
नेपालगन्ज, पुस १० गते । चिसो बढ्दै जाँदा हाल आएर बाँके जिल्लाका धेरै सर्वसाधारण फेरि कडा किसिमको भाइरल फ्लुबाट पीडित बनेका छन् । चिसो बढ्न थालेसँगै जिल्लामा कडा किसिमको भाइरलफ्लुका बिरामीहरु बढ्दैगएको अस्पतालले जनाएका छन् ।
भारतमा कोरोनाको नयाँ किसिमको भाइरस फेला पर्न थालेकाले कडा फ्लुका बिरामीलाई केही दिनमा निको नभए कोरोना परीक्षण गराउन चिकित्सकले आग्रह गरेका छन् ।
पुस महिना सुरु भएसँगै चिसो बढेका कारण जिल्लामा भाइरलफ्लु अर्थात ज्वरो, रुघाखोकी, निमोनिया र झाडापखालाका बिरामीको संख्या बढेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले चिसो बढेसँगै बाँकेका विभिन्न ठाउँमा कडाखाले भाइरल फ्लु देखिएकाले सचेत रहन सर्वसाधारणलाई आग्रह गरिएको बताउनुभयो ।
उहाँले केही दिनमा फ्लु निको नभए कोरोना परीक्षण गराउन सुझाव दिन चिकित्सकलाई पनि आग्रह गरिएको जनाउँदै यहाँस्थित नेपाल–भारत नाकामा पनि निगरानी बढाउन नेपालगन्ज उपमहानगरको स्वास्थ्य महाशाखालाई अनुरोध गरिएको बताउनुभयो ।
नेपालगन्जका वरिष्ठ फिजिसियन प्रकाश नागले चिसो अत्यधिक बढ्न थालेपछि कडा किसिमको भाइरलको सङ्क्रमण हुन लागेका वा भइसकेकाहरूमा उच्च ज्वरो आउने तथा धेरै दिनसम्म पनि ज्वरो कम नहुने, रुघाखोकी लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने, घाँटी दुख्नेजस्ता समस्या देखापरिरहेको बताउनुभयो ।
उहाँले अहिले दैनिक ४० जनासम्म कडा भाइरल फ्लुका बिरामीहरु क्लिनिकमा पुग्नेगरेको बताउनुभयो ।
सोही प्रकारले भेरी अस्पतालका सूचना अधिकारी तथा वरिष्ठ फिजिसियन डा. संकेतकुमार रिसालका अनुसार उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने र सिङ्गान निस्कने र पखाला समेत लाग्ने लक्षण देखिने फ्लुका बिरामी अहिले अस्पतालमा सबैभन्दा बढी आउनेगरेका छन् ।
उहाँले अहिलेको फ्लु निकै कडाखालको रहेको जनाउँदै केही दिनमा निको नहुनेलाई कोराना परीक्षण गराउन सुझाव दिइएको बताउनुभयो । नेपालगन्ज मेडिकल कलेजको नेपालगन्जस्थित शिक्षण अस्पतालका सहनिर्देशक डा. रोमन किदवाइले शिक्षण अस्पतालमा पनि भाइरलफ्लुका बिरामी आउनेक्रम अहिले बढेको बताउनुभयो ।
उहाँले चिसोको सबैभन्दा बढी प्रभाव बालबालिकामा पर्ने हुँदा उनीहरुको हेरचाहमा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ । अहिले बालबालिका ठुलो संख्यामा भाइरल ज्वरो र पखालाबाट पीडित भइरहेको जनाउँदै डा. किदवाइले सचेत रहन अपिल गर्नुभयो ।