राजु लामिछाने
रुकुमपश्चिम, पुस १० गते । जिल्ला ब्याडमिन्टन सङ्घ रुकुमपश्चिमले पहिलो पटक नेपाल ब्याडमिन्टन सङ्घबाट आधिकारिकता पाएको छ । २०७५ सालमै स्थापना भएर काम गर्दै आए पनि रुकुमपश्चिमले आधिकारिकता पाउन सकेको थिएन ।
स्थापना भएको पाँच वर्षपछि जिल्लाले मान्यता पाउन सफल भएको जिल्ला ब्याडमिन्टन सङ्घ रुकुमपश्चिमका अध्यक्ष अनिल बुढाले जानकारी दिनुभयो । हालै सुर्खेतको वीरेन्द्रनगरमा भएको कर्णाली प्रदेश ब्याडमिन्टन सङ्घको प्रथम अधिवेशनबाट रुकुमपश्चिमले नेपाल ब्याडमिन्टन सङ्घको आधिकारिक जिल्ला भएको प्रमाण पत्र पाएको हो ।
अध्यक्ष बुढाका अनुसार रुकुमपश्चिमले देशको ५२औँ जिल्लाका रूपमा मान्यता पाएको हो । रुकुमपश्चिमले अहिलेसम्म तदर्थ समितिका रूपमा काम गरिरहेको थियो । तदर्थ समितिका रूपमा क्रियाशील सङ्घले जिल्लामा ब्याडमिन्टन खेलको विकास र बिस्तारका लागि विभिन्न प्रतियोगिताहरू सञ्चालन गर्नुका साथै विभिन्न निकायहरूसँग सहकार्य गर्दै आएको थियो ।
अब आधिकारिक रूपमा थप सक्रियताका साथ विभिन्न गतिविधिहरू गर्ने सङ्घका अध्यक्ष बुढाको भनाई छ ।