• १४ मंसिर २०८१, शुक्रबार

सुपरमाई जलविद्युत् आयोजनाको उत्पादन बन्द

blog

माइजोगमाई-५ र इलाम नगरपालिका-२ सुम्बेकबीच माइखोलामा सञ्चालित सुपरमाई जलविद्युत आयोजना । तस्बिर : कोकिला ढकाल ।

कोकिला ढकाल

इलाम, पुस १० गते । स्थानीयबासीले इलामको माइखोलास्थित सुपरमाई जलविद्युत् आयोजनाको उत्पादन बन्द गराएका छन् । आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाले पावरहाउसको गेटमै ताला लगाएपछि गएरातिदेखि उत्पादन बन्द भएको स्थानीय सुमन बेघाले बताउनुभयो । 

सात दशमलव आठ मेगावाटको आयोजना सञ्चालनका क्रममा स्थानीयसँग भएका सहमति अनुसारको काम नभएको भन्दै स्थानीयले ताला लगाएका हुन् । सञ्चालकसँग पटकपटक कुरा गर्दा पनि काम नगरेको स्थानीय लिम्बूले बताउनुभयो । 

सिम्ले हुँदै अल्लेखोल्सी–साठीमुरे–प्याङ सडकमा ३० घन्टा एक्स्काभेटर लगाइदिने सहमति पालना हुनुपर्ने र यो सडकमा ३० वर्षसम्मै मर्मतमा सहयोग गर्नुपर्ने, पूर्णज्योति आधारभूत विद्यालयमा पाँच लाख रुपियाँको अक्षयकोष स्थापना गर्नुपर्ने र आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको रिपोर्ट सार्वजनिक गर्नुपर्ने स्थानीयको माग छ ।

"माइखोलामा सेभेन साइटको फुटबल मैदान निर्माणमा आयोजनाले एक्स्काभेटर लगाइदिनुपर्ने र खोलामा सरकारसँगको सम्झौता अनुसारको पानी छाड्नुपर्ने हाम्रो माग छ," लिम्बूले भन्नुभयो, "माग पूरा नभएसम्म हामी आयोजना चल्न दिँदैनौ ।" 

आयोजनाले एउटा माग पूरा गर्ने सहमति भएपछि अर्काे माग राखिएको जनाएको छ । स्थानीयले वडाको सिफारिसमा उल्लेख गरेका माग आफूहरूले पूरा गर्ने वचन दिएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार बर्ताैलाले बताउनुभयो । "तर आयोजनाका तर्फबाट जे सहमति जनायौं, स्थानीयले थप अरू माग लिएर आए भन्ने सुनेका छौं, तर विद्युत् आयोजनाले कुनै सडक ३० वर्षसम्म मर्मत गर्न सम्भव हुँदैन," उहाँले भन्नुभयो ।