• १२ साउन २०८१, शनिबार

थारु खानाको स्वाद चखाउँदै, मनग्य पैसा कमाउँदै

blog

महोत्सवमा थारु परिकार बिक्री गरिँदै। तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, पुस १० गते । थारु समुदायमा प्रचलित खानाका परिकारबाट राम्रो आम्दानी हुन थालेको छ । होटल व्यवसाय गर्नेहरूले परम्परागत थारु खानाबाट गतिलो आयआर्जन गर्न थालेका हुन् । 

ढिक्री, घोङ्घी, गँगटा, झिङ्गे माछा, बङ्गुरको मासु, अन्दिक भात लगायतका परिकार थारु समुदायको मौलिक परिकार हो । मेला, महोत्सवमा यस्तो परिकार गजबले बिक्नेगरेको छ । 

पहिलो पटक चाख्न चाहनेदेखि लिएर स्वाद लिदैं आएकाहरू थारु खानाका लागि पैसा तिर्नेगरेका छन् । प्रायः सबैजसो मान्छेले थारु परिकार मन पराउने गरेको १२ वर्षदेखि यसकै व्यापारमा संलग्न टीकापुरकी पुनम चौधरीले बताउनुभयो । 


उहाँले मेला, महोत्सवमा थारु खानाको परिकार बेचेर दैनिक १५ देखि २० हजार रुपियाँ आम्दानी हुनेगरेको बताउनुभयो । त्यस्तै, लम्कीचुहा नगरपालिका–७ चाँगाबारीकी अनिता कुश्मीले परम्परागत थारु खानाको परिकार बिक्री गर्न थालेको डेढ दशक भइसक्यो । 

मेला, महोत्सवमा यसको व्यापार गरेर आफूले दैनिक १० देखि १२ हजार रुपियाँ कमाउनेगरेको अनिताले बताउनुभयो । “कुनै कुनै दिन अलि बढी पनि बिक्री हुन्छ” उहाँले भन्नुभयो । 

गोदावरी नगरपालिका –५ गेटीकी आरती दहितलाई पनि धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवमा थारु परिकार बिक्री गर्न भ्याइ नभ्याई भएको थियो । मौलिक पहिरनमा चिटिक्क सजिएकी उहाँले १२ दिनमा डेढ लाखसम्मको कारोबार गर्नुभयो । आरतीले भन्नुभयो, “यस्तो व्यापारले आफ्नो संस्कृति, संस्कार पनि झल्किन्छ । धेरथोर कमाइ पनि हुन्छ ।”


थारु खानाको परिकार कुनै नौलो होइन । थारु समुदायको घरमा दैनिक छाक टार्न वा चाडपर्वविशेषमा पाक्ने परिकार नै हुन् । तर, यस्ता खानाका पारखीहरूले मेला, महोत्सवमा पैसा हाल्न पछि नपर्ने गरेकाले परम्परागत खानाको व्यापार राम्रो हुनेगरेको छ । 

थारु खानाको परिकार स्वादिलो र अर्ग्यानिक रहने गरेकाले धेरैले यस्ता परिकार मन पराउने गरेको कैलारी गाउँपालिका –६ गदरियाका सिद्धार्थ सोनीको तर्क छ । आफू गैरथारु भए पनि तीन वर्षदेखि थारु खानाका परिकारको व्यापार गरिरहेको उहाँले सुनाउनुभयो । 

“यसभन्दा अगाडि म भारतको गोवामा सेफको काम गर्थे” सोनीले भन्नुभयो, “उताबाट फर्केपछि यही काम गरिरहेको छु ।” उहाँका अनुसार मेला, महोत्सवमा होटल राखेमा दैनिक १५ देखि २० हजार आम्दानी हुने गर्दछ । थारु चेली भित्र्याएका सोनीले थारु संस्कृति, संस्कार र खानाको परिकारलाई नजिकबाट नियाल्नु भएको छ । बसोबास थारु गाउँमै रहेकाले यस्ता परिकार बनाउन अभ्यस्त पनि हुनुहुन्छ, उहाँ । 


परम्परागत खानाको परिकारप्रति पछिल्लो समय विदेशी पर्यटकसहित विभिन्न समुदायका व्यक्तिको आकर्षण बढ्दैगएको छ । व्यापार गर्न जान्नेले परम्परागत खानाबाटै कमाइरहेको थारु बुद्धिजीवी ठाकुर करियाप्रधानले बताउनुभयो । “आयआर्जनको रूपमा मात्र नभई कला, संस्कृति प्रवर्धनको हिसाबले पनि यो राम्रो काम हो” उहाँले भन्नुभयो । 

विगतमा होमस्टेमा यस्तो परिकारको व्यापार सीमित देखिन्थ्यो । अचेल थारु परिकारमात्र बिक्री गर्न होटल पनि खुल्न थालेका छन् । धनगढीमा वीरेन्द्र दहित र बसन्ती चौधरीले थारु परिकारमात्रै बिक्री गर्नेगरी ‘दहिटान घर’  होटल सञ्चालन गर्नुभएको छ । उहाँहरूको होटलमा पाइने परिकारसँग रमाउन थारुदेखि गैरथारु पुग्नेगरेका छन् ।