विष्णुप्रसाद पोखरेल
दमक, पुस १० गते । हात्ती संरक्षण, मानव–हात्ती द्वन्द्व न्यूनीकरण एवम् मानव-हात्ती सहअस्तित्वका लागि नेपाल र भारत दुबैतर्फ काम सुरु भएको छ । भारतको अछामदेखि पश्चिम बङ्गाल राज्यको महानन्द वाइल्डलाईफ सेङ्गचुरी हुँदै कोशीटप्पुसम्म घुम्न आउने जङ्गली हात्तीले गर्दा झापामा मानव-हात्ती द्वन्दको अवस्था विकराल बन्दै गएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हात्ती नियन्त्रणका लागि भएका असल अभ्यासको अनुसरण र जोखिम न्यूनीकरणका लागि चासो राखेपछि यहाँ भएका असल अभ्यासहरूको विषयमा लिखित रूपमा जानकारी गराएको मेचीनगर नगरपालिका-४ का वडा अध्यक्ष अर्जुन कार्कीले बताउनुभयो । मुख्यमन्त्री कार्कीले हात्ती गौडाको निरीक्षण गरेर यहाँको असल अभ्यास प्रदेशभर विस्तारका लागि आवश्यक कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभएको छ ।
बाहुण्डाँगीमा स्थानीय युवालाई हात्तीको बानी तथा हात्तीसँग गर्नुपर्ने व्यवहार, हात्तीले आक्रमण गर्नसक्ने अवस्था र आक्रमणबाट सुरक्षित रहन अपनाउनुपर्ने सतर्कता एवम् सजगताको बारेमा संरक्षण सचेतना तालीम दिएर 'क्विक रेस्पोन्स टिम' (आर.आर.टी.) गठन भएर परिचालित छ । यो भारततर्फ पनि बनेको छ ।
नेपाल-भारत अन्तर सीमा आर.आर.टी. गठन गरी दुबैतर्फबाट हात्तीको गतिविधि आदानप्रदान गर्ने सूचना सञ्जाल निर्माण गरिएको र यो प्रभावकारी बन्दै गएको वडाध्यक्ष कार्कीले जनाउनुभयो । "कति वटा हात्ती कताबाट कता जाँदैछ भन्ने सूचनाको आधारमा हात्ती प्रवेश गर्ने नाकामा निगरानी बढाउने गरिएको छ", उहाँले भन्नुभयो ।
कार्कीका अनुसार गाउँमा हात्ती पसेको सूचना दिनको लागि सशस्त्र प्रहरीको पोष्टमा ‘अर्लि वार्निङ्ग साइरन’ जडान गरिएको छ । यस्तो साइरनको आवाज बजेपछि अन्य मानिसहरूलाई घरभित्र सुरक्षित बस्न भनिएको छ । साइरनको आवाज बजेपछि आर.आर.टी. का सदस्यहरू, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा हात्ती प्रवेश गर्ने नाकाहरूको निगरानी गर्नेगर्छ । यहाँ भएको प्रयासले पछिल्लो समयमा बाहुण्डाँगीमा हात्तीले मानिसहरूको ज्यान नलिएको समेत उहाँले जनाउनुभएको छ । पूर्वी नेपालमा हात्ती प्रभावित क्षेत्र र हात्तीबाट सबैभन्दा बढी क्षति हुने क्षेत्र मानिएको बाहुण्डाँगीमा अहिले हात्तीको क्षति न्यूनीकरण भएको वडाध्यक्ष कार्कीको भनाइ छ ।
भारतबाट नेपाल आउने र नेपालबाट भारत फर्किने हात्तीले प्रयोग गर्ने मुख्य बाटो बाहुण्डाँगी भएकोले यो ठाउँ नेपालको सबैभन्दा बढी हात्ती प्रभावित क्षेत्रमध्ये एक भएको हात्तीको आनीबानीको विषयमा जानकार समेत रहनुभएका वडाध्यक्ष कार्कीले जनाउनुभएको छ । यहाँका बासिन्दाहरू धेरै लामो समयदेखि हात्तीबाट प्रभावित रहँदै आएका छन् । नेपाल र भारततर्फ ओहोरदोहोर गर्ने मुख्य नाका भएकोले बाहुण्डाँगीको आवादी जमिन र गाउँ बस्ती समेत बाह्रै महिना हात्तीले प्रयोग गर्दै आएको छ ।
"हात्तीबाट खेतबारीमा लगाएको खेती, भण्डारण गरेको अन्न, फलफूल तथा नगदेबाली नोक्सान गर्ने, घर गोठ भत्काउने घटना मात्र होइन हात्तीको आक्रमणबाट मानवीय क्षति समेत हुँदै आएको छ", कार्कीले भन्नुभयो । भारततर्फबाट आउने हात्ती सजिलै आवादी क्षेत्रमा पस्न नसकुन् र प्राकृतिक वासस्थानतर्फ जान मद्दत पुगोस् भन्ने उद्देश्यले नेपालतर्फ मेची किनारमा विद्युतीय तारबार लगाइएको छ । तर, हात्तीले आफ्नो पुर्ख्यौली बाटो प्रयोग गर्ने र खेतीबाली खानका लागि विद्युतीय तारबार समेत भत्काएर ओहोर दोहोर गरिरहेको देखिने उहाँको भनाइ छ ।
लामो समयदेखि मानव–हात्ती द्वन्द्वमा पिसिएको बाहुण्डाँगी अनेकौँ आरोह अवरोहको सिकाइबाट 'मानव-हात्ती द्वन्द्वको समाधान मानव-हात्ती सहअस्तित्व हुनसक्दछ' भन्ने निष्कर्षमा पुगेको कार्की भन्नुहुन्छ । "मानव–हात्ती सहअस्तित्वका लागि मानिसले नै आफ्नो व्यवहारलाई हात्तीमैत्री बनाउनुपर्ने हाम्रो बुझाइ छ", उहाँ थप्नुहुन्छ ।
हात्तीमैत्री मानव व्यवहारका लागि पीडित समुदायका समस्यालाई सम्बोधन गरी विश्वासको वातावरण निर्माण गर्नु आवश्यक देखिएको उहाँ बताउनुहुन्छ । विगतमा हात्तीको आक्रमणमा परी ज्यान गुमाएका व्यक्तिका सन्ततिको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले पीडितलाई वार्षिक १२ हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय वडाले गरेको छ ।
यो टोलीका सदस्यहरू हात्ती प्रवेश गर्ने नाकाहरूमा निगरानी राखी हात्ती गाउँमा पसेर गर्नसक्ने जनधनको क्षति रोक्नको लागि परिचालन गरिँदै आएको हो । टोलीमा आबद्ध सदस्यहरूको ५ लाखको दुर्घटना बिमा गर्नुको साथै रातको समयमा टाढासम्म देखिने चम्किलो टर्चलाईटहरु प्रदान गरिएको छ ।