• १२ मंसिर २०८१, बुधबार

कालिकोटमा ६० हजारलाई खोप लगाइँदै

blog

सांकेतिक तस्बिर

प्रेमराज सिम्खडा 

कालिकोट पुस १० गते । कालिकोटमा ६० हजार जनाभन्दा बढी नागरिकलाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको छ । १८ वर्षदेखि ४५ वर्ष उमेर समूहका नागरिकलाई पुस १२ देखि १४ र १६ देखि १८ गतेसम्म टाइफाइडविरुद्धको खोप लगाइने भएको हो ।

पहिलो चरणमा तिलगुफा नगरपालिका, पलाँता गाउँपालिका, नरहरिनाथ गाउँपालिका र महावै गाउँपालिकामा खोप लगाइने स्वास्थ्य सेवा कार्यालय कालिकोटले जनाएको छ । स्वास्थ्य सेवा कार्यालय कालिकोटले आयोजना गरेको टाइफाइड खोप अभियान २०८०÷०८१ सम्बन्धी जिल्लास्तरीय खोप समन्वय समितिका पदाधिकारी र सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा १८ वर्ष देखी ४५ वर्ष उमेर समूहका नागरिकहरूलाई अनिवार्य रूपमा खोप लगाउने बताइएको छ । 

स्वास्थ्य सेवा कार्यालय कालिकोटका स्वास्थ्य सेवा व्यवस्थापक डा. सङ्केत विश्वकर्माले बताउनुभयो । दोस्रो चरणमा खाँडाचक्र, रास्कोट, पचालझरना, सान्नी त्रिवेणी र शुभकालिका गाउँपालिकामा १६ गते देखी १८ गतेसम्म खोप लगाइने स्वास्थ्य सेवा व्यवस्थापक विश्वकर्माले जानकारी दिनुभयो । तोकिएको दिनमा खोप लगाउन सबैले उपस्थित हुन अनुरोध गरिएको छ  । 

कोभिडविरुद्धको खोप जस्तै टाइफाइडविरुद्धको खोप अनिवार्य लगाउनुपर्ने सहभागीको भनाइ थियो । कालिकोटमा अहिलेसम्म लगाइएका १३ प्रकारका खोपहरूको बारे जनस्वास्थ्य अधिकृत तथा स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटक महतले जानकारी गराउनुभएको थियो । सूचना अधिकारी महतका अनुसार कालिकोटमा ६० हजार बढी नागरिकलाई यो खोप लगाइनेछ । 

खोप लगाउने क्रममा टाइफाइड रोग लागेका त्यस्ता बिरामी भेटिएको खण्डमा उनीहरूलाई पनि यो खोप लगाउन सकिने बताउनुभयो । खोप १ पटक लगाए आजीवनसम्म पुग्ने खोपले टाइफाइड सार्नबाट रोक्नुका साथै रोग निर्मूल पार्न सहयोगी हुने भएकाले अन्य समूहलाई पनि क्रमिक रूपमा खोप लगाउने बताइएको छ ।