• १४ मंसिर २०८१, शुक्रबार
blog

गाईघाट समाचारदाता

गाईघाट, पुस १० गते । सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी–घुर्मी सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । सडकको स्तरोन्नतीसँगै कालोपत्रे गर्नु पर्ने भएकाले एक महिनाका लागि दैनिक आठ घण्टा सडक बन्द गरिएको कटारीस्थित योजना कार्यालयले जनाएको छ । कटारी नगरपालिका वडा नं. १४ लेखानीको चनौटे खोलादेखि घुर्मी प्रहरी कार्यालयसम्म कालोपत्रेको काम सुरु भएकाले सडक बन्द गरिएको हो । मिर्चैया– कटारी–घुर्मी सडक योजनाको कार्यालय कटारीका योजना प्रमुख इन्जिनियर सञ्जयकुमार मिश्रका अनुसार सात किलोमिटर कालोपत्रेको कामका लागि जनशक्तिसहित निर्माण व्यवसायीले यातायात सेवा बन्द गरेर सडक निर्माण सुरु गरेको हो । 

कार्यालयका सूचना अधिकारी मनोजकुमार मण्डलले पुस पहिलो सातादेखि आउँदो माघ ३ गतेसम्म सो खण्डमा दैनिक बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि अपराह्न ५ बजेसम्म सडक बन्द गरिएको छ । यस समयमा एम्बुलेन्स, सुरक्षा तथा दमकलबाहेकका सवारीसाधनलाई  पूर्ण रूपमा रोक लगाइएको छ । 

अनकन्टार भिरपहिरो छिचोलेर गएको सो सडकलाई गुणस्तरीय र बलियो बनाउन सवारी आवागमन नै बन्द गरेर काम गर्नु परेको आयोजनाको भनाइ छ ।