हेटौँडा समाचारदाता
हेटौँडा, पुस १० गते । मकवानपुरको मनहरी गाउँपालिका–७, बिजौनामा शनिबार राति जङ्गली हात्तीको आक्रमणबाट ५१ वर्षीय कान्छीमाया तामाङ घाइते हुनुभएको छ । घरबाट बाहिर निस्किँदा जङ्गली हात्तीको आक्रमणबाट कान्छीमायाको ढाडमा चोट लागी बेहोस् भएपछि प्राथमिक स्वास्थ्य केन्द्र मनहरीमा सामान्य उपचारपश्चात् थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
हात्तीलाई स्थानीय, पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षा पोस्टको नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल पोस्ट कत्ले खोला र इलाका प्रहरी कार्यालय मनहरीको टोलीले जङ्गलतर्फ लखेटेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यसअघि मनहरी गाउँपालिका–८, सिमपानीमा जङ्गली हात्तीले शनिबार बिहान घरमा क्षति गरेको थियो । प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार सिमपानीका रामहरी सुवेदीको ब्लकको टिनले छाएको एककोठे घरको झ्याल भत्काएको छ । हात्तीले सुवेदीको घरमा रहेको एक बोरा धान खाएको छ । प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा हात्तीलाई जङ्गलतर्फ लखेटिएको र मानवीय क्षति नभएको प्रदेश प्रहरीले जनाएको छ ।