• १२ असोज २०८१, शनिबार

टाइब्रेकरमा जितपछि धनगढी फाइनलमा

blog

काठमाडौँ, पुस १० गते । दुई पटक पछाडि परेको धनगढी एफसी सोमबार पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराएर दोस्रो नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पुगेको छ । एनएसएलको इतिहासमै यो पहिलो पेनाल्टी सुटआउट हो । धनगढी लगातार दोस्रो पटक उपाधि भिडन्त गर्दै छ । पछिल्लो संस्करणमा धनगढी फाइनलमा काठमाडौँ रेजर्ससँग निराश बनेको थियो ।

निर्धारित समयको खेल १–१ ले बराबरीमा सकिएको थियो । त्यसपछि थपिएको ३० मिनेटमा खेलपछि स्कोर २–२ को स्थितिमा रहेपछि जितहारको छिनोफानो गर्न टाइब्रेकरको साहारा लिइएको हो ।

टाइब्रेकरमा धनगढीका लागि रिचर्ड, फोडे फोफाना, आसिस चौधरी र देवेन्द्र तामाङले गोल गर्नुभयो । अहमद हिजाजीको पेनाल्टी प्रहार प्रिसोले रोक्नुभयो । हिजाजीले नै १२० औँ मिनेटमा गोल गरेर खेललाई पेनाल्टी सुटआउटमा लग्नुभएको थियो । लेबनानी स्ट्राइकर हिजाजीको पेनाल्टी प्रहार भने युभ्स प्रिसोले रोक्नुभएको थियो । पोखराका लागि दिनेश राजवंशी, एन्जल महर्जन र सुरजज्यू ठकुरीले मात्र गोल गर्नुभयो । पोखराको चौथो र पाँचौँ पेनाल्टीमा मोसेज ग्याबा र आयुष घलानले गोल गर्न सक्नुभएन । यी दुवैको पेनाल्टी प्रहारलाई धनगढीका गोलरक्षक मोहम्मद ताहाले विफल पार्नुभयो । मोसेज चालु प्रतियोगिताका सर्वाधिक गोलकर्ता हुनुहुन्छ ।

पोखरा थन्डर्ससमक्ष अझै पनि फाइनलमा पुग्ने अवसर छ । पोखरा र धनगढीले शीर्ष दुई स्थानमा रहेर पहिलो क्वालिफायर खेलेका हुन् । अब पोखराले मङ्गलबार गत विजेता काठमाडौँ रेजर्स र ललितपुर सिटी एफसीबिचको विजेतासँगै फाइनलमा पुग्न दोस्रो क्वालिफायर खेल्ने छ ।

यसअघि दशरथ रङ्गशालामा भएको खेलमा पोखराले पाँचौँ मिनेटमै अग्रता बनाएको थियो । पोखराको पहिलो रोजाइमा मैदानमा उत्रेको घानाका तीन खेलाडीमध्ये एक मोसेजले मैदानको बायाँ भागबाट दिएको लो क्रसमा आयुषले गोलपोस्ट नजिकबाट बल ट्याप इन गरी गोल गर्नुभएको हो । उत्तरार्धको नवौँ मिनेटमा धनगढीले कप्तान देवेन्द्रको हेड गोलमार्फत बराबरी गोल फर्कायो । कमल श्रेष्ठले मिलाइदिएको क्रसमा गोल गर्न डिबक्स पुगेका डिफेन्डर देवेन्द्रले डाइभिङ हेडमार्फत सफलता पाउनुभएको हो ।

देवेन्द्रको गोलले निर्धारित समयको खेल बराबरीमा सकियो । यी दुई टिमबिच लिग चरणको खेल पनि १–१ ले टुङ्गिएको थियो । यद्यपि यस पटक जितहारको छिनोफानोका लागि थप ३० मिनेट खेल भयो । खेलको १०३ औँ मिनेटमा अनोरको गोलले पोखरा दोस्रो पटक अगाडि भयो । सुरजज्यूको फ्रिकिकमा दिनेशले गोलपोस्ट नजिकबाट लगातार दुई पटक प्रहार गरेको बल धनगढीका गोलरक्षक ताहाले जोगाए पनि त्यसपछि रिबाउन्डमा बल पाएका फ्रान्कलिन कुएटाले हेडमार्फत् गोल गर्नुभयो । 

यद्यपि १२० औँ मिनेटमा स्ट्राइकर हिजाजीले गोल गरी धनगढीको उद्धार गर्नुभयो । डिबक्समा रहेका हिजाजीले दोस्रो प्रयासमा बल गोलपोस्टमा छिराउनुभएको हो । उहाँको पहिलो प्रहार डिफेन्डर दिनेश राजवंशीले रोक्नुभएको थियो । तर बल फर्केर हिजाजीकै खुट्टामा पुगेको थियो । यसअघि खेलको ३१ औँ मिनेटमा पोखराका जो आइडु र ४८ औँ मिनेटमा धनगढीका रिचर्डको प्रहारमा गोलपोस्ट बाधक बनेका थिए । आजको खेलमा धनगढीका गोलरक्षक ताहा म्यान अफ दी म्याच बन्नुभयो ।