• १४ असार २०८१, शुक्रबार

श्रेष्ठ स्मृति मिडिया कपमा चितवन च्याम्पियन

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, पुस ९ गते । नेवाः पत्रकार राष्ट्रिय दबु (एनएफएनजे) ले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनाराणबहादुर श्रेष्ठको स्मृतिमा आयोजना गरेको सत्यनारायणबहादुर स्मृति मिडिया कप फुटसल प्रतियोगितामा नेवाः पत्रकार राष्ट्रिय दबु चितवन च्याम्पियन भएको छ ।

आदर्श विद्या मन्दिर (एभिएम) विद्यालयस्थित फुट्सल मैदानमा भएको प्रतियोगिताको फाइनलमा चितवनको टिमले एनएफएनजे काठमाडौँलाई ८–४ ले पराजित गरी च्याम्पियन भएको हो । 

च्याम्पियन टिमका लागि अनिश श्रेष्ठ र गगन श्रेष्ठले चार–चार गोल गर्नुभयो । यसैगरी काठमाडौँका अभिनव जोशीले पनि फाइनलमा चार गोल गर्नुभएको थियो । प्रतियोगितामा नेवाः पत्रकार राष्ट्रिय दबू, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), नेवाः कलाकार र एनएफएनज ललितपुरको पनि सहभागिता रहेको थियो ।

छ टिमलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’ मा आयोजकसहित ललितपुरको पत्रकार टिम र कलाकार तथा समूह ‘बी’ मा काठमाडौँ, चितवनको पत्रकार टिम र फोनिज रहेका थिए । समूह ‘ए’ बाट नेवाः कलाकार विजेता र आयोजक एनएफएनजे उपविजेता बनेर सेमिफाइनल पुगेका थिए । यसैगरी चितवन समूह ‘बी’ को विजेता र काठमाडौँ उपविजेताको हैसियतमा अन्तिम चारमा पुगेका थिए ।

उद्घाटन खेलमा कलाकारको टिमले आयोजकलाई १–० ले हराएर विजयी सुरुआत गरेको थियो । कलाकारको टिमले समूह चरणमा एनएफएनजे ललितपुरलाई पनि ४–० ले हरायो । आयोजक एनएफएनजे भने आप्mनो दोस्रो खेलमा ललितपुरलाई २–१ ले पराजित गरी सेमिफाइनलमा स्थान बनाउन सफल भयो ।  

समूह ‘बी’ मा चितवनले काठमाडौँलाई ६–२ र फोनिजलाई ७–१ ले पराजित गरेको थियो । काठमाडौँ आप्mनो दोस्रो खेलमा फोनिजलाई ५–१ ले हराएर सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो सेमिफाइनलमा ६–२ र दोस्रो सेमिफाइनलमा चितवनले एनएफएनजेलाई ५–१ ले हराएर उपाधि भिडन्तमा स्थान बनाएका हुन् ।

सो प्रतियोगिताको समूह चरण सकिएपछि नेवाः महिला पत्रकार र नेवाः महिला कलाकारबिच मैत्रीखेल भएको थियो । जसमा नेवाः महिला पत्रकार २–१ ले विजेता बनेको थियो । सो प्रतियोगिताको उद्घाटन ललितपुर महानगरपलिका –५ का अध्यक्ष विकासमान श्रेष्ठ र समापन ललितपुर उपमहानगरपालिकाका उपमेयर मञ्जली शाक्यले गर्नुभएको थियो ।

नेवाः पत्रकार राष्ट्रिय दबुले शिक्षाविद् तथा पत्रकार श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको पहिचानको मागसहित हरेक वर्ष विभिन्न कार्यक्रम गरी अभियान चलाउँदैआएको छ ।

नेवाः पत्रकार राष्ट्रिय दबूले यस पटक श्रेष्ठको १०८ औँ जन्मोत्सव मनाउने क्रममा फुटसलको आयोजना गरेको छ । श्रेष्ठको १०८ औँ जन्मोत्सवको प्रमुख कार्यक्रम भने पुस १३ गते हुनेछ । सोही दिन मिडिया कपको विजेता, उपविजेता टिमलाई पुरस्कृत गरिनेछ । नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले २००८ सालमा नेपाल टुडेको सम्पादक श्रेष्ठले आफ्नो अध्यक्षतामा पहिलो पटक नेपाल पत्रकार संघको गठन गरेको बताउनुभयो ।

२०१२ सालमा पत्रकारको अर्को बैठकबाट पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईको सभापतित्वमा नेपाल पत्रकार संघको पुनर्गठन गरिएको थियो । त्यसपछि सोही तथ्यलाई पहिलो घटनाको रुपमा व्याख्या गरी भट्टराईलाई नेपाल पत्रकार महासंघको संस्थापक मानिँदैआएको भए पनि त्यो गलत भएको उहाँले बताउनुभयो ।