• १६ वैशाख २०८१, आइतबार

तस्बिरमा ऐतिहासिक तपोभूमि गाम्फाधुरी

blog

ऐतिहासिक तपोभुमी गाम्फाधुरीमा आन्तिरक पर्यटकहरु । तस्बिर : साधन घर्ती

साधन घर्ती

म्याग्दी (दरबाङ), पुस ९ गते । अग्लो पहाडको टुप्पो, तल वरिपरि घना जङ्गल छ । आँखैअघि लस्करै हिमाल छन् । सुन्दर ग्रामीण बस्तीका दृश्यहरू तल देखिन्छन् । यी अनुपम प्राकृतिक सुन्दरताभित्र रहेको गाम्फाधुरी १००८ स्वामी परमानन्द महाराजले तपस्या गर्नुभएको ऐतिहासिकस्थल हो । 

म्याग्दीको मङ्गला गाउँपालिका–४, र छिमेकी जिल्ला बागलुङको ताराखोला गाउँपालिका –३, को सीमामा पर्ने गाम्फाधुरी समुन्द्री सतहदेखि तीन हजार ९ मिटर उचाइमा अवस्थित छ । 

गाम्फाधुरीमा स्वामी परमानन्दले तपस्या गर्नेक्रममा बनाएको कुटी, साधना स्थल र हवनकुण्डको भग्नावशेष देख्न सकिन्छ । ढुङ्गा खोपेर पानी सङ्कलन गर्न बनाइएको संरचना उस्तै छ । तपोभूमि क्षेत्रका ऐतिहासिक संरचनाको दृश्यावलोकन र प्राकृतिक सुन्दरताले मोहित बनाइदिन्छ । उकालोको थकान मेटिन्छ । सूर्योदय र सूर्यास्तको सुन्दर दृश्यावलोकनले जोकोही पनि आकर्षित हुन्छन् । 

यस क्षेत्रको जङ्गलमा विभिन्न प्रजातिका लालिगुँरास, वनस्पति, विभिन्न चराचुरुङ्गी र जनावर पाइन्छन् । मङ्गला –४, वडा कार्यालयले गाम्फाधुरीमा पूर्वाधार निर्माण, आध्यात्मिक र धार्मिक क्षेत्रको विकास गर्न, ऐतिहासिक तपोभूमिको संरक्षण र प्रवर्धनका लागि पहल थालेको छ । 

वडा अध्यक्ष लालबहादुर रोका मगरले ऐतिहासिक तपोभूमिको संरक्षण, पूर्वाधार निर्माण र प्रवर्धन गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न वडाले पहल थालेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘गाम्फाधुरी प्राकृतिक सुन्दरताको उपहार मात्र नभई १००८ स्वामी परमानन्दज्युले तपस्या गरेर ज्ञान प्राप्त गरेको ऐतिहासिकस्थल पनि हो । यहाँ भग्नावशेषको रूपमा परिणत भएका संरचनाको संरक्षण, पूर्वाधार निर्माण र प्रवर्धन गर्न सकेमा ठुलो सङ्ख्यामा तपस्वी, भक्तजन र पर्यटक भित्र्याउन सकिन्छ ।’’ 

वि.सं. २०१७ सालदेखि २०२७ सम्म गाम्फाधुरी बस्नुभएका स्वामी परमानन्दबाट स्थानीय छविप्रसाद शाहनन्द लामिछाने र खड्कप्रसाद रोकाले पनि शिक्षा प्राप्त गर्नुभएको इतिहास रहेको वडा अध्यक्ष रोकाले बताउनुभयो । यसैगरी स्वामी परमानन्दले २०१८ सालमा सोही वडाको दुर्दिमा शिवालय मन्दिर स्थापना गर्नुभएको थियो । 

तपोभूमि क्षेत्रमा मन्दिर, स्वामी परमानन्द सहित उहाँका चेलाहरू छविप्रसाद र खड्कप्रसादको मूर्ति बनाउने वडा अध्यक्ष रोकाले बताउनुभयो । ‘‘गाम्फाधुरीलाई धार्मिक र पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सडक निर्माण, खानेपानी, पदमार्ग निर्माण, तपोभूमिमा पूर्वाधार निर्माण र प्रवर्धनका लागि गाउँपालिका, प्रदेश र सङ्घ सरकारका सम्बन्धित कार्यालयसमक्ष बजेटको व्यवस्था गरिदिन माग गरिसकेको छु’’ उहाँले भन्नुभयो ।

गाम्फाधुरीबाट मानापाथी, अन्नपूर्ण, धवलागिरि, गुर्जा, चुरेन माछापुच्छ्रेलगायत दर्जन बढी हिमालको लस्कर देख्न सकिने वडा सदस्य होममाया पुन बुढाथोकीले बताउनुभयो । साथै, म्याग्दीका अधिकांश क्षेत्र, बागलुङ, पर्वत, कास्कीलगायत जिल्लाका विभिन्न ग्रामीण र बजारको दृश्यावलोकन गर्न सकिन्छ । 

गाउँपालिकाका सब-इन्जिनियर धनबहादुर बोहराले तपोभूमि क्षेत्रको संरक्षण, गाम्फाधुरीसम्म पूर्वाधार निर्माण, सडक र पदमार्ग निर्माणका लागि ठुलो बजेट आवश्यक पर्ने बताउनुभयो । करिब साढे ३ घण्टाको पैदलयात्रामार्फत गाम्फाधुरी पुग्न सकिन्छ । सोही धुरीको नामबाट मङ्गला –४, मा युवा क्लब र खेलमैदानको नामकरण समेत गरिएको छ ।