सिराज खान
नेपालगन्ज, पुस ९ गते । बाँकेमा कागज प्रशोधन उद्योग निर्माणको तयारी अगाडी बढाइएको छ । एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिले एक्सीलेन्ट पेपर मिल कम्पनी लिमिटेडको नाममा सो उद्योग निर्माणको तयारी अगाडी बढाएको हो ।
एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिले राप्तीसोनारी गाउँपालिका २ महेन्द्रपुरमा आयोजना गरेको विशेष भेला तथा शेयर सदस्यता वितरण कार्यक्रममा एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिका संस्थापक अध्यक्ष ज्योतिलाल भण्डारीले उद्योग निर्माण प्रक्रिया अगाडी बढाइएको बताउनुभयो ।
कार्यक्रममा ५१ जनालाई प्रालिको शेयर सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल र एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिका संस्थापक अध्यक्ष भण्डारीले सो कार्यक्रममा शेयर सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा बोल्दै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष पौडेलले आफ्नो पालिकामा यति ठुलो उद्योग स्थापना गर्ने कुरा थाहा पाएर खुसी लागेको जनाउँदै त्यसका लागि आफूले हरेक प्रकारको सहयोग गर्ने बताउनुभयो । उहाँले उद्योगका लागि के गर्न सकिन्छ, बसेर छलफल गरेर काम गर्न तयार रहेको जनाउँदै कानुनी प्रक्रियाहरू पूरा गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिका संस्थापक अध्यक्ष भण्डारीले २०७६ सालबाट उद्योग निर्माणका लागि सुरु गरिएको प्रक्रिया अझै जारी रहेको जनाउँदै बैङ्कले यो महिना लगानी गरेमा ६ महिनाभित्र प्रशोधन सञ्चालनमा आउने बताउनुभयो । एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिका प्रबन्ध निर्देशक राजेन्द्र चौधरीले उद्योगका बारेमा विस्तृत जानकारी गराउनुभएको थियो भने सब डिभिजन वन कार्यालयका प्रतिनिधि चक्रपाणि शर्मा, शेयर सदस्यहरू भीम राना र होम बहादुर अधिकारी लगायतले सो उद्योगले राप्तीसोनारीको मात्र नभई पश्चिम नेपालकै आर्थिक विकासमा ठुलो टेवा पुर्याउने बताउनुभयो ।
उद्योगमा पहिलो चरणमा रिसाइकल प्लान्ट जडान गरिने भएको छ । ३३ करोड प्रारम्भिक लगानीका लागि हालसम्म ५१ जनालाई शेयर वितरण भइसकेको छ भने बैङ्कले लगानी गर्नासाथ दैनिक ५० टनको कटन मिक्स वेष्ट पेपर रिसाइकल प्लान्ट स्थापना गरिने जनाइएको छ ।