रेखीराम राना
तानसेन, पुस ९ गते । सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने भएको छ । यही पुस १६ गतेदेखि राजमार्ग दैनिक ६ घण्टा बन्द हुने भएको हो । सिद्धबावा क्षेत्रमा सुरुङ मार्ग निर्माण गर्न राजमार्ग बन्द गर्न लागिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयो ।
सडक राति १० देखि बिहान ४ बजेसम्म बन्द हुनेछ । बन्दका बेला अत्यावश्यक सवारीसाधन भने निर्बाध चल्न पाउने प्रजिअ काफ्लेले बताउनुभयो । राजमार्ग बन्द हुँदा सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने यात्रु तथा मालबहाक सवारीसाधन प्रभावित हुनेछन् ।
सिद्धबावा सुरुङ मार्ग निर्माण आयोजना कार्यालयबाट पत्राचार भई आएकाले योजनाको कामलाई अगाडि बढाउन सडक बन्द गर्नुपरेको उहाँले बताउनुभयो । सडक सय दिनसम्म दैनिक ६ घण्टा बन्द हुने बताइएको छ । सडक बन्द गरेर सम्बन्धित निकायले नतिजा हासिल गर्ने गरी काम अगाडि बढाउन उहाँले आग्रह गर्नुभएको छ ।
सुरुङ मार्ग निर्माण गर्दा माथिबाट पहिरो र ढुङ्गाहरू खस्ने र यात्रुलाई लाग्न सक्ने भएकाले सडक बन्द गरेर आयोजनाको काम अगाडि बढाउनुपरेको सुरुङ मार्ग आयोजना कार्यालय बुटवलका प्रमुख रामपुकार जैसवालले बताउनुभयो ।
सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ मार्ग बनाउने गरी चाइना कम्पनीसँग सम्झौता भएको छ । सुरुङ मार्ग निर्माणका लागि सात अर्ब ३४ करोड २१ लाख लागत लाग्ने अनुमान गरिएको छ । सिद्धबावा सुरुङ मार्गको हालसम्म ८ प्रतिशत मात्र काम भएको छ । डिजाइन स्वीकृतिमा भएको ढिलाइ र सुरुङ मार्गमा गएको पहिरोका कारण यसको निर्माणमा ढिलाइ भएको आयोजना प्रमुख जैसवालले बताउनुभयो ।