• ६ माघ २०८१, आइतबार

सीमा क्षेत्रबाट लागूऔषधसहित एक पक्राउ

blog

सशस्त्र प्रहरीले लागू औषधसहित पक्राउ गरेको अनवर सेख । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती
बर्दीबास, पुस ९ गते । 
सशस्त्र प्रहरीले नेपाल भारत सीमा क्षेत्रबाट लागू औषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीको सन्ध्याकालीन सीमा गस्तीले मटिहानी २ बरदाहाका ५२ वर्षीय अनवर सेखलाई विभिन्न नामका एक हजार ६९४ थान लागू औषधका एम्पुलसहित आइतबार साँझ पक्राउ गरेको हो ।

सेखको साथबाट बरामद भएका लागू औषधमा ६४० थान प्रोमेन्थाजाइन, ५५६ थान डाइजापाम र ४९८ थान ब्रुफ्रेनरफिन नामका इन्जेक्सन एम्पुलहरु भएको सशस्त्रको जलसागरस्थित नेपाल नं ९ गण हेड क्वार्टरले सोमबार बिहान जनाएको छ ।

मटिहानीस्थित बोर्डर आउट पोष्टका सशस्त्र प्रहरी नायब निरीक्षक प्रेमबहादुर भुजेलको कमाण्डमा खटी गएको टोलीले मटिहानी ८ स्थित गन्धी गल्ली इलाकामा चेकजाँच गर्ने क्रममा सेखलाई पक्राउ गरेको हो ।

भारत विहारको मधवापुर बजारबाट नीलो झोलासहित नेपाल प्रवेश गरेका सेखलाई रोक्न खोज्दा भागेपछि लखेटेर नियन्त्रणमा लिएको सशस्त्रले जनाएको छ ।

नेपाल भारत सीमा क्षेत्रबाट लागूऔषधको रूपमा प्रायः सिरप र ट्यावलेट बरामद हुने गरे पनि यति ठुलो मात्रामा इन्जेक्सनबाट लगाइने लागूऔषध फेला परेको यो पहिलो पटक भएको प्रहरीले जनाएको छ ।

सेखलाई अनुसन्धान र कारबाहीका लागि नियन्त्रणमा लिइएको  जिल्ला प्रहरी कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेड क्वार्टर महोत्तरीका सशस्त्र डिएसपी विकाश अधिकारीले बताउनु भयो । सेखले उक्त लागू औषध भक्तपुर लैजान खोजिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।