राममणि दाहाल
हेटौँडा, पुस ९ गते । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले रैथाने बालीको न्यूनतम मूल्य निर्धारण गरेसँगै रैथाने बालीको खरिद सङ्कलनले तीव्रता पाएको छ ।
न्यूनतम मूल्य निर्धारणसँगै गाउँपालिका कार्यालयको सक्रियतामा रैथाने बालीको खरिद सङ्कलन सुरु गरिएको हो ।
मकवानपुरगढी गाउँपालिका वडा न. ८ बुढीचौर क्षेत्रमा उत्पादित मिठे फापर र तिते फापर स्थानीय एकता स्वावलम्बन कृषि सहकारी संस्था लिमिटेडले कृषकहरूबाट खरिद गरी सङ्कलन सुरु गरेको छ ।
सहकारी संस्थाले प्रति केजी ११६ रुपियाँको दरले कृषकहरूबाट फापर खरिद गरेको सहकारीका व्यवस्थापक गुन्जरत्न लुङ्वाले जानकारी दिनुभयो । सहकारीले पहिलो दिन २१ जना कृषकबाट दुई हजार १७४ केजी फापर खरिद गरेको छ । पहिलो दिन मकवानपुरगढी ८ का कृषक चन्द्रबहादुर लुङ्वाले सबैभन्दा बढी २६८ केजी फापर बिक्री गर्नुभएको थियो ।
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, वडा न. ८ का वडाध्यक्ष कुमार सीँ घिसिङ, वडा सदस्यद्वय गोकुलप्रसाद देवकोटा र सूर्यमाया दोङको उपस्थितिमा फापर खरिद तथा सङ्कलन कार्य सुरुवात गरिएको हो ।
सहकारीका अध्यक्ष बालानन्द तिमल्सिनाले १० मेट्रिकटन खरिद गर्ने लक्ष्य रहेको बताउनुभयो । गत वर्ष स्थानीय किसानले फापर प्रति केजी ९० रुपियाँमा बिक्री गरेकोमा यो वर्ष गाउँपालिकाको अनुदानसहित गर्दा बढी मूल्य पाएका छन् ।