• १६ भदौ २०८१, आइतबार

एक वर्षमा सरकारले धेरै उपलब्धि गरेको छ : मन्त्री शर्मा

blog

कार्यक्रममा सम्बोधन गर्नुहुँदै सञ्चार तथा सूचनाप्रबिधि मन्त्री रेखा शर्मा । तस्विर : कविराज घिमिरे

कबिराज घिमिरे

हिले, पुस ७ गते । सरकारका प्रबक्ता एवम् सञ्चार तथा सूचनाप्रबिधि मन्त्री रेखा शर्माले सरकार सबै क्षेत्रमा आफ्नो उद्देश्यअनुरुप काम गर्न सफल भएको बताउनुभएको छ । 

मध्यपहाडी राजमार्गको दूरसञ्चार अप्टिकल फाइवर नेटवर्कको उद्घाटन गर्न धनकुटाको हिले आइपुग्नु भएका मन्त्री शर्माले सरकार गठनको एक बर्ष पुग्न लागेको र यो बिचमा सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य लक्ष्य बनाएर काम गरेको बताउनुभयो ।

नागरिकता तथा राष्ट्रिय परिचयपत्र, विद्युतीय राहदानी, जग्गा रजिष्ट्रेसन, श्रम स्वीकृति, सवारी चालक अनुमतिपत्र, नो अब्जेक्सन सर्टिफिकेटलगायतका लागि सेवा सरल, कम खर्चिलो र झन्झटमुक्त बनाइएको उहाँको दाबी छ । “यस्ता सेवाहरू प्राप्त गर्न घण्टौँ लाइन बस्नुपर्ने झन्झट र कष्टपूर्ण अवस्थाको अन्त्य गरेका छौं” उहाँले भन्नुभयो । 

बिदाको दिन समेत सार्वजनिक सेवा प्रवाह सुरु गरिएको, हेलो सरकारको सेवा चौबिसै घण्टा सञ्चालनमा ल्याइएको, सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, व्यावसायिक र जवाफदेही बनाउँदै भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत सुधारका विषयलाई अघि बढाइएको बताउनुभयो । 

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति तीनै तहमा कडाइका साथ कार्यान्वयन गरिएको उहाँको भनाइ छ । नक्कली भूटानी शरणार्थी, ललिता निवास, सुनको अवैध ओसारपसार लगायतका भ्रष्टाचारमा छानविनलाई सहयोग गर्न सरकार दृढतापूर्वक उभिएको तथा सुन तस्करीको छानविन गर्न उच्चस्तरीय समिति गठन गरी छानविन भइरहेको उहाँले जानकारी गराउनुभयो ।  

सामुदायिक विद्यालयमा देखिने पाठ्यपुस्तक समस्या हटाइएको, मिटरब्याजको अन्त्य गर्न सफल भएको नागरिकता विधेयक प्रमाणीकरण गरेर हजारौं नागरिकताविहीनलाई नागरिकता प्रदान गरिएको तथा अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रक्रिया सुरु भएको उहाँले बताउनुभयो ।

सरकार गठन हुँदैगर्दा जर्जर रहेको देशको आर्थिक अवस्था अहिले सुधार हुँदैगएको उहाँले बताउनुभयो । “अहिले वित्तीय क्षेत्रका समस्यालाई नीतिगत तथा कार्यान्वयन तहबाट उचित सम्बोधन गरिएकाले समष्टिगत आर्थिक परिसूचकहरू सकारात्मक हुँदैआएको छ” मन्त्री शर्माले बताउनुभयो ।  

बिद्युत उत्पादनको क्षेत्रमा समेत सरकारले छलाङ मारेको उहाँको भनाइ छ । एक वर्ष अवधिमा २८१ मेगावाट विद्युत् उत्पादन क्षमता वृद्धि भइ हालसम्म जडित विद्युत् २८९२ मेगावाट पुगेको उहाँले दाबी गर्नुभयो । बिद्युत निर्यातमा पनि यो सरकार कोषेढुङ्गा साबित भएको उहाँले बताउनुभयो । बर्तमान सरकार भारत, अमेरिका, चीन, संयुक्त अरब इमिरेट्स लगायतका देशसँग सन्तुलित कूटनीति स्थापित गर्न सफल भएको उहाँको भनाइ छ ।  

त्यस्तै, मन्त्री शर्माले कोशी प्रदेशभित्र कूल ६८३ किलोमिटर दूरीमा सूचना महामार्ग निर्माण गरिएको र यो  दूरसञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा ठूलो उपलब्धि भएको बताउनुभयो ।