• १२ मंसिर २०८१, बुधबार

राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल यसै महिना

blog

बुद्धिचाल प्रतियोगिता बारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, पुस ७ गते । छैटौँ तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिता पुस २३ देखि २८ गतेसम्म ललितपुरमा हुने भएको छ ।

स्वर्गीय अमात्यको स्मृतिमा ललितपुर स्पोर्ट्स क्लब र नेपाल बुद्धिचाल महासङ्घको संयुक्त आयोजनामा हुने प्रतियोगिता च्यासलस्थित तुल्सिलाल प्रतिष्ठानको हलमा हुनेछ । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको विजेता टिमले  २ लाख , उपविजेताले १ लाख २० हजार , तेस्रो स्थान प्राप्त गर्ने टिमले ६० हजार र चौथो हुने टिमलाई ४० हजार रुपियाँ पुरस्कार प्रदान गरिने प्रतियोगिातका संयोजक राजु ताम्राकाले जानकारी दिनुभयो । 

यसैगरी प्रत्येक बोर्डमा प्रथम हुने चार जना खेलाडीलाई जनही १०/१० हजार रुपिायँ पुरस्कारको व्यवस्था गरिएकोछ । जसनुसार कूल पुरस्कार राशी चार लाख ७० हजार रुपियाँ रहेको छ ।विगतभन्दा फरक शैलीमा खेलाइने प्रतियोगिताका प्रत्येक टिममा वैकल्पिक सहित ५ जना खेलाडीको सहभागीता रहने महासङ्घका महासचिव धरमबहादुर लामाले जानकारी दिनुभयो ।

जसअनुसार प्रतियोगिता संरचनामा खेलाडीलाई , बी, सी र डी गरी चार समूहमा वर्गीकरण गरिएको छ । समूह ए मा टाइटल प्राप्त खेलाडी, पूर्व नेपाल च्याम्पियन, राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट दश स्थान प्राप्त खेलाडी तथा १९०० रेटिङ माथिका खेलाडी रहने छन् । समूह बीमा १९०० रेटिङ मुनिका खेलाडी, समूह सी मा यु–१९ र समूह डीमा यु–१६ वा महिला खेलाडी रहने छन् । वैकल्पिक खेलाडीमा जुन समुहको खेलाडी हो, त्यही ठाउँमा प्रतिस्पर्धा गर्न पाउनेछन ।

प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन थापाथली चेस पार्क क्लब, ललितपुर स्पोर्ट्स क्लब, गजुरमुखी चेस क्लब, गोल्डेन गेट क्लब, लुम्बिनी इभेन्टमेनेजमेन्ट टिम, हिमालयन चेस क्लबलगायत सातै प्रदेशका टिमको सहभागीता रहनेछ ।

यस प्रतियोगिता सञ्चालन गर्न कूल ३१ लाख रुपियाँ लाग्ने बताईएको छ । जसका लागि बागमती प्रदेश खेलकुद परिषद् हेटौँडाको १० लाख रुपियाँ, राष्ट्रिय खेलकुद परिषद्, स्थानीय तह, सुभेच्छुक सङ्घ संस्था र प्रतिष्ठित ब्यक्तिहरुको सहयोग रहने महासङ्घका कार्यबाहक अध्यक्ष हिराकाजी महर्जनले जानकारी दिनुभयो ।